ट्रेण्डिङ

होमपेज / समाज

सल्यान बनगाड कुपिण्डे नगरपालिकामा ३१९ घरधुरीमा एक वर्ष भित्र शुद्ध पानी पुर्‍याउने लक्ष्य

  सल्यान खबर डेस्क २०८० मंसिर १८ गते सोमबार १३:५५:१८ मा प्रकाशित

मंसिर १८,सल्यान 
उपभोक्ताको घरघरमा सुरक्षित खानेपानीको पहुँच पुर्‍याउन सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा यस वर्ष ‘सुस्वा’ परियोजना अन्तर्गत ४ वटा खानेपानी योजनाको काम सुरु भएको छ । चालु आर्थिक वर्षमा २०८०।०८१ मा बनगाड कुपिण्डे नगरपालिकामा ४ वटा खानेपानी योजना र ५ वटा शौचालय निर्माणका योजना सम्पन्न हुने नगरपालिकाले जनाएको छ । 

यस वर्ष ४ वटा वडाका ३१९ घरधुरीमा र  ७ वटा शिक्षण सस्था तथा स्वास्थ्य सस्थामा सुद्ध, सफा र स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्य रहेको नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले जानकारी दिए । नगरपालिका र वास प्लान अनुसार यस वर्ष प्राथमिक करणमा परेका ४ वटा खानेपानी योजनाको पुनः निर्माण, मर्मत र एउटा नयाँ लिफ्ट प्रणालीको योजना सम्पन्न गर्ने गरी प्रक्रिया अगाडी बढिसकेको उनको भनाई छ । 

बनगाड कुपिण्डे नगरपालिका, नेपाल सरकार, फिनल्यान्ड सरकार, युरोपियन युनियनसँगको साझेदारीमा सञ्चालित सबैका लागि दिगो खानेपानी सरसफाइ  तथा स्वच्छता ९सुस्वा० योजना अन्तर्गत खानेपानी तथा सरसफाइ क्षेत्रको समस्या समाधान गर्न योजना तथा कार्यक्रम सञ्चालन गरेको हो । 

 नगरपालिकाको वास इकाईका अनुसार बनगाड कुपिण्डे नगरपालिकाको वडा नम्बर ३ मा पाट्के खानेपानी योजना, वडा नम्बर ४ र ५  मा किचेन लिस्पानी  खानेपानी योजना, वडा नम्बर ७ मा छहरे रम्चाउन खानेपानी योजना र वडा नम्बर १२ मा माझखर्क स्वास्थ चौकी लिफ्ट खानेपानी योजनाको मर्मत एवम् पुनः निर्माणको काम हुनेछ ।

यस्तै ५ वटा सामुदायिक विद्यालयमा वास सहितको शौचालय निर्माण हुने पनि नगरपालिका वास संयोजक गोविन्द शर्माले जानकारी दिए । उनका अनुसार मुक्ती मावि वडा नम्बर ३ औलबेशी, राधा आधारभूत वडा नम्बर ६, भलाखर्क, कृष्ण मावी वडा नम्बर ७ सङ्ग्रही, नवज्योती मावी वडा न ८ बाबियाचौर र प्रावी थापाचौर वडा नम्बर १० मा वास शौचालय निर्माण हुनेछ । लैङ्गिक समता, अपाङ्गता तथा सामाजिक समावेशीकरणमैत्री संरचना निर्माण हुने संयोजक  शर्माले जानकारी दिए । 

३० चरणमा योजना सम्पन्न हुने जानकारी दिँदै उनले यस वर्ष ३१९ घरधुरीमा एक घर, एक धारा पुर्‍याइने र पानी सुद्ध करणका लागि प्रत्येक योजनामा ‘ईनलाईन क्लोरिनेशन’ राखिने उल्लेख गरे । सबै योजनाको उपभोक्ता समिति गठन भइसकेको छ भने समितिका पदाधिकारीहरूलाई अभिमुखीकरण, योजना सञ्चालन हुने ४ वटै वडामा वडा स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन गरिएको  शर्माले जनाए । उपभोक्ता समितिलाई सरसफाइ र स्वच्छता, लैङ्गिक समता, अपाङ्गता तथा सामाजिक समावेशीकरण, घरबारी व्यवस्थापन, बालबालिकाको सरसफाइ व्यवस्थापन लगायतका विषयमा अभिमुखीकरण गरिएको नगरपालिकाको वास इकाईले जनाएको छ । 

यस वर्ष सञ्चालन हुने केही योजनाको सर्वे, डिजाइनको काम सम्पन्न भइसकेको र केही योजनाहरूमा सर्वेको काम भइरहेको प्राविधिक सहजकर्ता प्रदिप चन्दले जानकारी दिए । योजना सञ्चालनका लागि कति बजेट आवश्यक पर्छ भन्ने यकिन गर्नका लागि लागत अनुमान तयार भइरहेको पनि उनले जनाए । उनका अनुसार यही मङ्सिर महिना सम्ममा सम्पूर्ण योजनाको लागत अनुमान तयार भइसक्ने छ भने एउटा वास शौचालय निर्माणका लागि करिब १० लाख रकम खर्च हुने छ । 

खानेपानी योजनाहरूलाई पारदर्शी, दिगो बनाउन नगरपालिकाले वास समितिबाट हुने अनुगमनलाई प्रभावकारी बनाइने नगर प्रमुख बुढाथोकीले बताए । उनले वडा तथा बस्ती स्तरबाट पनि अनुगमन, योजनामा सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । पालिकाको र सुस्वाको संयुक्त लगानीमा नगरपालिकाका नागरिकलाई शुद्ध खानेपानी, घर आँगन सफा, वातावरण संरक्षणका क्षेत्रमा देखिने गरी काम गर्ने नगरपालिकाले जनाएको छ । सुस्वा स्थानीय, प्रदेश, संघ सरकार लगाएय  वास प्लान अनुसार आगामी वर्ष फेरी अन्य स्थानका योजनाहरू सञ्चालन हुने नगर प्रमुख बुढाथोकीले बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top