होमपेज / समाज
सल्यान, १२ मङ्सिर । सल्यानको छत्रेश्वरी गाउँपालिकामा जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय नागरिकहरूले लैङ्गिक हिंसा विरुद्ध सामूहिक प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्गलवार हिंसा नगर्ने, नसहने र भएको देखेमा आवाज उठाउने प्रतिबद्धता गरेका हुन् । गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी, उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, वडा नम्बर ६ का वडा अध्यक्ष टिकाराम बुढा लगायत कर्मचारी तथा सर्वसाधारण नागरिकहरूले महिला हिंसा विरुद्ध सामूहिक प्रतिबद्धता जनाएका हुन् ।
छत्रेश्वरी गाउँपालिका अन्तर्गत वास इकाईको आयोजनामा सामूहिक हस्ताक्षर कार्यक्रम सम्पन्न गरिएको वास संयोजक निमराज केसीले जानकारी दिए । कार्यक्रममा सहभागीहरूले समाजमा छोरा र छोरी दुवै बराबरी भन्ने सोचलाई आत्मसाथ गर्दै लैङ्गिक हिंसाविरुद्ध व्यापक जनचेतना जगाऊ आवश्यक रहेको बताएका थिए । महिलाहरूले प्याड बनाउने सीप सिके यसैबिच छत्रेश्वरी गाउँपालिकामा घरेलु स्यानी टरी प्याड निर्माण सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ ।
महिला स्वास्थ्य स्वयंसेविका, विद्यालयका छात्रा, महिला शिक्षक लगायत सहभागी महिलाहरूले प्याड बनाउने सीप सिकेका हुन् । तालिममा सहभागी छत्रेश्वरी गाउँपालिका ५ की सिता केसीले आफूले पहिलो पटक कपडाको प्याड बनाउने सिप सिकेको र अब बजारमा पाइने प्याडभन्दा घरमै निर्माण गरेर प्रयोग गर्ने बताइन् ।
महिनावारी स्वच्छता व्यवस्थापनका लागि आवश्यक ज्ञान सँगै प्याड बनाउने तरिका सिकेको अर्का सहभागी छत्रेश्वरी ३ बस्ने मंगली सार्कीले बताइन् । मर्यादित महिनावारीबारे सचेतना फैलाउनका लागि तालिममा धामी तथा पुजारीहरूलाई पनि सहभागी गराइएको थियो । घरेलु प्याड निर्माण तालिम सँगै मर्यादित महिनावारी र प्याडको बजारीकरणका विषयमा पनि अभिमुखीकरण गरिएको गाउँपालिकाका वास संयोजक निमराज केसीले जानकारी दिए ।
तालिम समापन अवसरमा सहभागीहरूले तयार गरेको स्यानी टरी प्याड प्रदर्शन गरिएको थियो भने गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी, उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, वडा नम्बर ६ का वडा अध्यक्ष टिकाराम बुढाले सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए । घरेलु स्यानी टरी प्याड निर्माण गरी यसको प्रयोगलाई प्रवर्द्धन गर्नका लागि तालिमको आयोजना गरिएको वास सहजकर्ता सुरज वलीले जानकारी दिए ।





.jpg)