होमपेज / समाज
मङ्सिर ९, सल्यान । : लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ। ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने नाराका साथ अभियान सुरु भएको हो ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलाइन्छ। सन् १९८० को दशकदेखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसा विरुद्धको दिवस मनाउँदै आए पनि सन् १९९९ मा संयुक्त राष्ट्र सङ्घले यसको अनुमोदन गरेपछि यससम्बन्धी विभिन्न अभियान सुरु भएको हो।
सल्यानमा पनि प्रहरीले स्थानीय सरकारसँग मिलेर जिल्ला व्यापी विभिन्न कार्यक्रम गर्ने जनाएको छ । सल्यानको श्रीनगर बजारमा शनिवार बिहान प्रभात फेरी सहितको कार्यक्रम गरिएको छ । बजारको माथिल्लो प्रहरी पोस्टबाट बजार हुँदै तल्लो बसपार्कमा पुगेको कोणसभालाई शारदा नगरपालिकाका उपप्रमुख सुस्मिता सापकोटा, सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्का, प्रहरी प्रमुख नवीन कार्कीले सम्बोधन गर्दै लैङ्गिक हिंसा रोक्ने प्रतिबद्धता गरेका छन् ।
कार्यक्रममा उनीहरूले १६ दिनसम्म जनचेतनाका कार्यक्रम गरिने र ती कार्यक्रमले समाजमा जागरण ल्याउने बताएका हुन ।
मिना बुढाथोकीले सहजीकरण गरेको श्रीनगरको कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, विद्यार्थी तथा स्थानीयको पनि सहभागिता रहेको थियो ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार सरकारले महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान सञ्चालनको निर्णय गर्नुका साथै अभियान अवधिभर सरोकारवाला निकायको समन्वयमा देशव्यापी कार्यक्रम गरिने छ।





.jpg)