होमपेज / समाज
सल्यान, ४ मङ्सिर ।
सल्यान छत्रेश्वरी, २ को दहखोला स्थित चमेरे गुफा क्षेत्रमा सार्वजनिक शौचालय निर्माण कार्य सुरु भएको छ । पछिल्लो समय आन्तरिक पर्यटकहरूको चहलपहल बढ्दै जानथालेपछि रूपान्तरण युवा क्लबले शौचालयको आवश्यकता महसुस गरी निर्माण कार्य सुरु गरेको हो । जस्ता पाताको छाना लगाएर प्रयोग गर्न मिल्ने शौचालय निर्माण कार्य सुरु भएको जनाउँदै क्लबका अध्यक्ष विशाल पुन मगरले करिब ८० हजार रुपैयाँमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।
उनका अनुसार क्लबले सार्वजनिक शौचालय निर्माणका लागि आफ्नो कोषमा रहेको २० हजार रुपैयाँ लगानी गर्नेछ । अन्य रकम सङ्कलनको लागि जुटेको क्लबलाई शौचालय निर्माणको लागि गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय« समन्वय परिषद् माल्टाका सल्लाहकार हरि बिसीबाट २५ हजार रुपैयाँ सहयोग घोषणा भएको क्लबका अध्यक्ष पुन मगरले जानकारी दिए । यही मङ्सिर महिना सम्म शौचालय निर्माण सक्ने गरी आफूहरू लागि परेको उनको भनाई छ ।
शौचालय शिलान्यास गर्दै छत्रेश्वरी २ का वडा अध्यक्ष प्रेम नेपालीले सामाजिक काममा क्लब र युवाहरूको सक्रियता महत्त्वपूर्ण रहेको भन्दै शौचालय निर्माणका लागि आफूले पनि सक्दो सहयोगको प्रतिबद्धता जनाएका थिए । २०७८ सालमा स्थापना भएको रूपान्तरण युवा क्लबले विभिन्न सामाजिक काममा सक्रियता देखाउँदै आएको छ ।
केही दिन अघि मात्रै क्लबका सदस्यहरूले स्थानीय मोटर बाटो मर्मत सम्भारमा दुई दिन श्रमदान गरेका थिए । ओझेलमा परेको चमेरे गुफाको प्रचारप्रसार र संरक्षण तथा विकासको लागि सबैको सहयोगको अपेक्षा गरिएको क्लबका अध्यक्ष पुन मगरले जनाए । प्राकृतिक रूपले मनोरम उक्त क्षेत्रमा विभिन्न स्थानबाट पिकनिकका लागि पनि मानिसहरू आउने गरेका छन् ।





.jpg)