ट्रेण्डिङ

होमपेज / समाज

भूकम्प पिडितलाई सल्यानका दस स्थानीय तहले २० लाख सहयोग गर्ने

  सल्यान खबर डेस्क २०८० कार्तिक १९ गते आइतबार १६:२२:३८ मा प्रकाशित

कार्तिक १९,सल्यान 
सल्यानका सबै पालिकाले भूकम्प प्रभावित क्षेत्रका लागि आर्थिक २० लाख आर्थिक सहयोग गर्ने भएका छन् । दस पालिका रहेको सल्यानमा प्रत्येक पालिकाले २ लाखका दरले २० लाख रकम भूकम्प प्रभावितहरुका लागि सहयोग गर्ने भएका हुन । 

आइतबार सल्यान खलंगामा बसेको स्थानीय तहहरुको संयुक्त बैठ्कले एकद्धार प्रणाली मार्फत जिल्लाका १० स्थानीय तहहरुले २ लाखका दरले २० लाख सल्यान जिल्ला विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका सभापति बेलाराम रावलले जानकारी दिनु भयो । जम्मा भएको रकमको ६० प्रतिशत जाजरकोट र ४० प्रतिशत रुकुम पश्चिममा जिल्ला विपद् व्यवस्थापन कोषमा जम्मा गरी प्रभावितको राहत उद्धार र पुनस्थापना लागि पठाउने निर्णय गरेको उहाँले बताउनु भयो । 
खाद्यान्न तथा जिन्सी सामग्री खरिद गरेर लैजानु भन्दा प्रभावित क्षेत्रमा पिडितहरुलाई जे आवश्यकता छ त्यसको लागि नगद रकम उपलब्ध गराउने निर्णय गरिएको छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले बताउनु भयो ।

राहत र पुनर्निमाणको काम प्रभावकारी रुपले सञ्चालन हुन सकोस् र यसमा सल्यानका स्थानीय तहको हातेमालो र एकताको साथ एकद्वार प्रणाली मार्फत राहत उपलब्ध गराउन सकियोस् भनेर एकमुष्ठ नगद उपलब्ध गराउने निर्णय भएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावतले जनाए । स्थानीय तहहरु, सल्यान जिल्ला प्रशासन र भुकम्प प्रभावित जिल्लाका प्रशासन संग समन्वय गरेर राहत रकम ढिला नगरी छिटै उपलब्ध गराइने उहाँको भनाई छ । 

यस्तै आइतबार नै बसेको जिल्ला विप्द व्यवस्थापन समितिको बैठकले भूकम्पका लागि जिल्लामा क्षतिग्रस्त भएका भौतिक संरचनाको तथ्यांक संकलनलाई निरन्तरता दिने जनाएको छ । भूकम्पबाट हालसम्म २५ वटा पूर्ण रुपमा क्षति, ८८ आशिंक क्षति र ९४ वटा घरमा सामान्य क्षति भएको तथ्यांक आएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक वेद प्रसाद खरेलले जानकारी दिनु भयो ।

यस्तै भुकम्पबाट पिडित भएकालाई विपद् पिडित उद्धार तथा राहत वितरण सम्बन्धी मापदण्ड २०७७ बमोजिम राहत वितरण गर्ने, जिल्लामा क्षतिग्रस्त भौतिक संरचनाको यथार्थ वितरण संकलन गरी आ आफ्नो क्षेत्रबाट समेत राहत वितरणको कार्य गर्ने निर्णय समेत भएको उहाँले बताउनु भयो । 

बैठकमा जिल्ला समन्वय समिति, स्थानीय तहका अध्यक्ष, प्रतिनिधी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, स्वास्थ्य सेवा कार्यालय,  पूर्वाधार तथा सामाजिक विकाससँग सम्बन्धित कार्यालयका प्रतिनिधी, नेपाल रेडक्रस सोसाइटी, गैरसरकारी संस्था महासंघ,नेपाल पत्रकार महासंघ, उद्योग वाणिज्य महासंघका प्रमुख, प्रतिनिधी लगायतको सहभागिता थियो ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top