ट्रेण्डिङ

होमपेज / समाज

सडक स्तर वृद्धिका लागि एक करोड ६० लाख लगानी गर्दै छत्रेश्वरी गाउँपालिका

  सल्यान खबर डेस्क २०८० आश्विन १८ गते बिहीबार १९:५९:४४ मा प्रकाशित

सल्यान, १८ असोज ।

सल्यानको छत्रेश्वरी गाउँपालिकाले शंखमुल दारिम ज्यूला खर्सु बास जयचौर सडक खण्डको स्तर वृद्धिको काम सुरु गरेको छ । दीर्घकालीन महत्वको यस सडक स्तर वृद्धिका लागि बिहीबार इन्जिनियरिङ सर्वे गरिएको गाउँपालिकाले जनाएको छ । छत्रेश्वरी गाउँपालिकाको ८० लाख र सङ्घीय समपूरक अनुदानको ८० लाख गरेर एक करोड ६० लाख रुपैयाँ बजेटबाट सडक स्तर उन्नति गर्न लागिएको गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले जनाए ।

बाह्रै महिना सहज रुपमा गाडी सञ्चालन हुने गरी सडक स्तर उन्नति हुने भएपछि छत्रेश्वरी ३ र ४ का बासिन्दाहरू खुसी छन् । सर्वे टोलीसँगै स्थलगत सडक निरीक्षणमा पुगेका अध्यक्ष बुढाथोकीले प्राविधिक टोलीलाई गुणस्तरीय कामका लागि निर्देशन दिए । सडक सञ्जालको व्यापकताले दूरी छोट्याउने मात्र नभै गाउँको उत्पादनलाई सहरसम्म पुर्‍याउने, थातथालो छोड्नेको सङ्ख्यामा कमी ल्याउने तथा नुन, तेल, खाद्यान्न तथा अन्य आवश्यक वस्तुको सहज उपलब्धता समेत दिलाउने भएकाले गुणस्तरीय सडक निर्माणमा जोड दिइएको उनको भनाई छ । शंखमुल दारिम ज्यूला खर्सु बास जयचौर सडक खण्डमा नाला सँगै आवश्यक ठाउँमा रिटेनिङ वाल निर्माण, ह्युम पाइप तथा ग्याविन जाली, मोड सुधार लगायतका काम हुने गाउँपालिकाका इन्जिनियर राजाराम रिजनलले जानकारी दिए ।

८ मिटर चौडा सडकको मापदण्ड अनुसार स्तर वृद्धिको काम हुने उनको भनाई छ । सर्वे लगत्तै अव लागत अनुमान तयारी एवम् ठेक्का प्रक्रिया अगाडी बढाउने गाउँपालिकाले जनाएको छ । नाला नहुँदा वर्षमायामा सडक हिलाम्मे हुने, खाल्डाखुल्डीको समस्या समाधान हुने अपेक्षा गरिएको छ । सडक स्तरउन्नतीसंगै गाउँमा उत्पादित वस्तु बजार सम्म पुर्‍याउन तथा आवश्यक विभिन्न सामग्री गाउँसम्म ल्याउन समेत सहज हुनेछ । गाउँपालिकाका लेखा अधिकृत गोविन्दराज विष्ट, इन्जिनियर रिजाल सँगै योजना शाखा प्रमुख खेमराज बुढाथोकी, सब ईन्जिनियरहरु प्रदीप चन्द, गणेश डाँगी, प्रवीण शाही, रोजगार सहायक नीराजन बुढाथोकी लगायतको टोलीले उक्त सडकको सर्वे गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top