ट्रेण्डिङ

होमपेज / समाज

भासिएको पुलबाट जोखिम मोलेर भेरी नदी वारपार गर्न बाध्य सल्यानका स्थानीय

  सल्यान खबर डेस्क २०८० भाद्र २१ गते बिहीबार १७:३३:१० मा प्रकाशित

भदौ २१, सल्यान : सल्यान र जाजरकोटको सिमानामा पर्ने छेडागाडनजिकै भेरी नदीस्थित झोलुंगे पुल भासिएको एक वर्ष बितिसक्दा पनि पुनर्निर्माण हुन सकेको छैन।

गत वर्ष अविरल वर्षाका कारण पुल भासिएपछि बन्गाडकुपिण्डे नगरपालिका–२ बाँमेका बाउनडाँडा, पारिल्ला, चैते, कुरिल्लेल गायत जाजरकोटका झन्डै ३ सय परिवार जोखिम मोलेर वारपार गर्न बाध्य छन्।

पिलर भासिएपछि झोलुंगे पुलको बीच भागले भेरी नदी छोए पनि अर्को विकल्प नभएपछि भासिएकै पुलबाट स्थानीय हिँड्न बाध्य छन्।

स्थानीयलाई पालिकाको मुख्य बजार सल्लीबजार,  जाजरकोटको शिवालय गाउँपालिकास्थित छेडाबजार जान पनि समस्या भएको स्थानीय गोपीलाल आचार्यले जानकारी दिए।

पिलर भासिएका कारण  दैनिक उपभोग्य वस्तु तथा गाउँमा उत्पादन भएको कृषिजन्य उत्पादन पनि ओसारपसार गर्नसमेत  समस्या हुने गरेको उनको भनाइ छ।

 २०७२ सालमा बिबिएलएल नामक संस्थाले १ सय ५७ मिटर लम्बाइको झोलुंगे पुल निर्माण गरेको थियो । भासिएको पुल पुन निर्माण गर्न कसैको पनि ध्यान नदिएको स्थानीयको भनाइ छ।

पुल भासिएपछि मजदुरी गर्न छेडा र सल्लीबजार जानेहरू समस्यामा परेको स्थानीय लिलु खत्रीले बताए। मर्मत गर्नेतिर कुनै निकायले वास्ता नगरेको उनको आरोप छ। उनले भने, 'आजभोलि वर्षाको समय छ। पुलले भेरी नदी छोएको छ। साना बालबालिका र वृद्धवृद्धाहरुलाई वारपार गर्न निकै समस्या हुने गरेको छ।'

वर्षाले पुलको पिलर भासिँदा पुल निकै ठाडो भएको जसका कारण सामान बोकेर हिँड्न निकै सकस हुने गरेको उनले बताए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top