होमपेज / समाज
भदौ २०,सल्यान
पोषक तत्त्वका हिसाबले निकै प्रभावकारी मानिने बन्दा गोभीलाई नेपाली समाजले खासै महत्त्व दिएको पाइँदैन । चाउमिन र सलादका रुपमा प्रयोग हुने बन्दा गोभी तरकारीको रुपमा भने कमै पाक्ने गर्दछ ।
जसका कारण बन्दागोभिको बजार मूल्य पनि प्राय साधारण नै हुने गर्दछ । तर यस वर्ष भने सल्यानका किसानले उत्पादन गरेको बन्दागोभीले उचित मूल्य पाइरहेको छ । कुनै समय प्रतिकिलो ५ रुपैयाँसम्म बिक्री नभएको बन्दा अहिले ५५ देखि ६० रुपैयाँसम्म बिक्री हुँदै आइरहेको छ ।
कृषि उपज बजार सङ्कलन केन्द्र कपुरकोटका अनुसार साउन महिनामा किसानले उत्पादन गरेको बन्दागोभीले राम्रो मूल्य पाएको छ । साउन महिनामा २५ रुपैयाँ किलोबाट सुरु भएको मूल्य महिनाको अन्तिमसम्म ६० रुपैयाँ किलोसम्म पुगेको कृषि उपज बजार केन्द्र कपुरकोटका अध्यक्ष तिलक शर्माले जानकारी दिनु भयो ।
बुटवल र महेन्द्रनगरको बजारको प्रतिस्पर्धा हुँदा सल्यानका किसानले त्यसको फाइदा लिएको उहाँको भनाई छ । उहाँले भन्नु भयो जति खुला प्रतिस्पर्धा भयो किसानलाई त्यति नै फाइदा हो । यस पटक बुटवल र महेन्द्रनगरको बजार बिच प्रतिस्पर्धा हुँदा किसानहरूले उचित मूल्य पाइरहेका छन् ।
कार्यालयका अनुसार असार र साउन महिनामा मात्र सल्यानबाट ४ हजार ३ सय ६३ क्विन्टल बन्दा गोभी जिल्ला बाहिर निकासी भएको छ । ५ रुपैयाँ किलो पनि बिक्री नभएर केही महिनाअघि बारीमै कुहाएका किसानले यस पटक भने राम्रो मूल्य पाएको उहाँको भनाई छ ।
सल्यानको बेमौसमी तरकारीले उचित मूल्य पाइरहेता पनि उत्पादन र उत्पादकत्व दुवै घट्दै गइरहेको शर्माको भनाई छ । यस वर्ष बजारमा माग राम्रो भएकाले किसानले उचित मूल्य पाएको भएता पनि विगतका वर्षहरूभन्दा बिस्तारै उत्पादन भने घट्दै गइरहेको उहाँको भनाई छ ।
उहाँले भन्नु भयो उत्त्पादकत्वमा जोड दिन सकिएन भने दिगो बजारीकरण गर्न समस्या हुने देखिन्छ । थोरै उत्पादन हुँदा लागत बढ्ने र लागत बढ्दा बाहिरको तरकारीसँग प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ ।
बेमौसमी तरकारीले हब बनेको सल्यानमा चालु आर्थिक वर्षको दुई महिनामा ११ करोड बढीको तरकारी निकासी गरेको छ ।





.jpg)