होमपेज / समाज
सन्तोष घर्ती सल्यान,१८ भदौ ।
सल्यानको कपुरकोट गाउँपालिकाले इलाका प्रहरी कार्यालय लुहाममा सरुवा भएर आउनु भएका प्रहरी निरीक्षक रेसमलाल पौडेललाई स्वागत गरेको छ ।
जिल्लाको कालीमाटी गाउँपालिका,छत्रेश्वरी गाउँपालिका,कपुरकोट गाउँपालिका र त्रिवेणी गाउँपालिका प्रहरी निरीक्षकको नेतृत्वमा इलाका प्रहरी कार्यालय लुहामले हेर्ने गर्दछ । इलाका प्रहरी कार्यालयको मातहतमा रहने गरी चार पालिकाको बिभिन्न स्थानमा १ इलाका प्रहरी कार्यालय ४ चौकी,४ वटा अस्थायी प्रहरी पोस्ट छन् भने १ सय २ जना दरबन्दी रहेकोमा ९६ जना प्रहरी कार्यरत छन् ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीको अध्यक्षतामा सोमबार आयोजना गरिएको सर्वपक्षीय परिचयात्मक कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक पौडेलले यस क्षेत्रमा बसोबास गर्ने नागरिकको शान्ति सुरक्षा,अमन चयनका लागि प्रहरी अहोरात्र खट्ने बताउनु भयो । आफूसँग अनुसन्धानका क्षेत्रमा लामो अनुभव भएको जनाउँदै पौडेल आपराधिक क्रियाकलापको गहिरो अध्ययन गरी अपराधीलाई कारबाहीको दायरामा लिइने बताउनु भयो ।
प्रहरी निरीक्षक पौडेललाई स्वागत गर्दै गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले कपुरकोट गाउँपालिकामा लागु औषध दुर्व्यसनीमा फस्नेहरूको सङ्ख्या दिनानुदिन बढ्दै गएको सुचना पाइएकाले लागु औषध दुर्व्यसनी लाई नियन्त्रण गर्न प्रहरीले अहम् भूमिका खेल्नेमा विश्वास व्यक्त गर्नु भयो । पुनले चाड पर्वको अवसरमा जुवा तास खेल्ने तथा मदिरा सेवन गर्ने क्रियाकलाप हुन सक्ने भन्दै त्यस्ता किसिमका क्रियाकलापलाई रोक्न प्रहरी लागि पर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले कपुरकोट गाउँपालिकामा कुनै व्यक्तिले गैर कानुनी काम गरेको पाइएमा नियन्त्रण गरी कानुन बमोजिम कारबाही गर्न अनुरोध गर्नु भयो । उहाँले समाजलाई अपराध मुक्त बनाउन कुनै पनि व्यक्तिले गलत प्रकृतिका हर्कत गर्न नहुने बताउनु भयो । भण्डारीले प्रहरी दैनिक जीवनको सुख दुखको साथी रहेको जनाउँदै कपुरकोट गाउँपालिकामा सुशासन कायम गर्न,कानुनको पालना,अपराध नियन्त्रण,दुर्घटना न्यूनीकरण,विपद् उद्धार जस्ता कार्यमा आफूहरूको पूर्ण साथ रहने विश्वास दिलाउनु भयो ।





.jpg)