ट्रेण्डिङ

होमपेज / समाज

सल्यानका सुन्तलामा पिङ्ग रोग

  सल्यान खबर डेस्क २०८० भाद्र १३ गते बुधबार १८:५४:१० मा प्रकाशित

भदौ १३,सल्यान 
सल्यानमा प्रमृख निकासीयोग्य फलफूल सुन्तलामा नयाँ रोग देखिएको छ । सुन्तलाका पात पहेलो हुने, बोक्रो सुक्ने र पछि बोट नै सुक्ने रोग देखिएको हो । 

सुन्तालमा रोग देखिएपछि कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको समन्वय र कृषि बिकास कार्यालय सल्यानले यसको नमुना संकलन गरी राष्ट्रिय कृषि अनुसन्धान प्रतिस्ठान, राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रमा पठाएको थियो । नमुना परिक्षण गर्दा पिङ्ग रोग पुष्टि भएको कृषि विकास कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख रेशम कुमार बस्नेतले जानकारी दिनु भयो ।  

सुन्तला बगैचामा बढी ओसिलो र न्यानो वातावरण भएको आषाढ देखि साउन, भदौसम्म सुन्तलाका बोटका हांगामा यो रोगको ढुसीले आक्रमण गर्ने उहाँको भनाई छ । शुरुमा यो रोगले छोएको ठाउँमा पानीले भिजेको जस्तो देखिने बिस्तारै रोगले ग्रस्त पार्दै जाने र बर्षा पनि सकिएपछि बिस्तारै हांँगाको वोक्राको तन्तु मर्दै जाने र सुक्न थाल्ने लक्षण देखिने बस्नेतको भनाई छ । संक्रमित बोटा लम्वाईतिर वोक्रा चर्किने गर्दछ  । वोक्रा सुकेर चर्केको भागमा गुलावी रंग आउने यसरी वोक्रा सुकेपछि जुन हांँगामा लागेको छ त्यो हाँंगा सुकेर जाने उहाँले बताउनु भयो । 

उहाँका अनुसार सुन्तलामा देखिएको रोगको उपचार तथा रोगथामको लागि बोटको फेदमा माटोको सतहबाट १ मिटर जति माथि वोडेक्स पेस्ट लगाउने, रोग देखिएको बोटको माथिल्लो भागमा कपर अक्सिसकलोराईड युक्त बिषादी २ ग्राम प्रति लिटर पानीको वा बोडो मिश्रण १ प्रतिशतका दरले स्प्रे गर्न सकिन्छ । यस्तै उक्त बिषादीलाई १० देखि १२ दिनको फरकमा २ देखि ३ पटक सम्म प्रयोग गर्नु पर्ने बताउनु भयो ।
सल्यानका बागचौर नगरपालिकाको ८ र ९ का केही स्थानमा उक्त रोग देखिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top