होमपेज / समाज
सल्यान, १२ भदौ ।
सल्यानको छत्रेश्वरी गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने सहायक सामग्री निःशुल्क उपलब्ध गराइएको छ । हाललाई चेकजाँच तथा उपचार पश्चात् सहायक सामग्री आवश्यक पर्ने ६ जनाको लागि विभिन्न सामग्री प्राप्त भएकोमा मङ्गलवार ३ जनालाई सहायक सामग्री हस्तान्तरण गराइएको हो ।
छत्रेश्वरी ४ निवासी अपाङ्गता भएका १४ वर्षीय बालक घनश्याम शर्मालाई आवश्यक पर्ने एक जोड ‘क्लब सुज’, त्रिवेणी १ का ११ वर्षीय वालक विवेक पुनलाई घुँडामा लगाउने सहायक सामग्री ‘निक्याफ’ र छत्रेश्वरी ५ निवासी ५४ वर्षीय मान बहादुर खत्रीलाई खुट्टामा लगाउने ‘एयफो’ प्रदान गरिएको हो । गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी, उपाध्यक्ष बुद्ध कुमारी खत्री र प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीले सहायक सामग्रीहरू हस्तान्तरण गरेका थिए । छत्रेश्वरी गाउँपालिका र विकलाङ्ग मित्र समूह तथा अपाङ्ग वाल अस्पताल पुनर्स्थापना केन्द्रको साझेदारीमा निःशुल्क रुपमा सहायक सामग्री उपलब्ध गराइएको हो ।
गाउँपालिकाभित्रका १८ वर्ष सम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनर्स्थापना, सहायक सामाग्री तथा कृत्रिम अङ्ग उपलब्ध गराउने कार्यक्रम सञ्चालनमा छ । गाउँपालिकाले अपाङ्गता पहिचानको लागि स्वास्थ्य तथा पुनर्स्थापना घुम्ती शिविर सञ्चालन गर्दै आएको छ । गत आर्थिक वर्षमा पनि भोटेचौरमा एक दिने शिविर सञ्चालन गरी ४३ जनाको शारीरिक अपाङ्गता पहिचान गरिएको थियो । त्यस बेला पनि अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने गुड्ने मेच २ जनालाई, वाकर ५ जनालाई, अर्थाेपेडिक सहायक सामग्री ३ जनालाई, बैसाखी ५ जनालाई उपलब्ध गराइएको थियो । साथै उक्त शिविरमै आवश्यक परामर्श, ड्रेसिङ, माइनर शल्यक्रिया, औषधि वितरण, फिजियोथेरापी सेवा प्रदान गरिएको थियो भने केहीलाई रिफर पनि गरिएको थियो ।
साझेदारी कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने सहायक सामग्रीहरू हात खुट्टा लगायतका कृत्रिम अङ्गहरू, ह्वील चियर, वाकर, बैसाखी, काम्रो आदी सामग्री निःशुल्क नै उपलब्ध गराउने कार्यक्रम रहेको छ ।





.jpg)