होमपेज / समाज
सन्तोष घर्ती सल्यान,३२ साउन ।
सल्यानको कपुरकोट गाउँपालिकाले सार्वजनिक स्थानको सरसफाइ तथा वृक्षारोपण अभियानलाई तीव्रता बनाएको छ । अभियान अन्तर्गत बिहीबार गाउँपालिका कार्यालयको परिसर र वरपरका क्षेत्रमा जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागितामा सरसफाइ गरिएको हो ।
गाउँपालिकाको १३ औँ गाउँ सभाको नीति तथा कार्यक्रम अनुसार यस अघि गाउँपालिका भित्रका ६ वटै वडामा रहेका सार्वजनिक स्थानमा सरसफाइ गरिएको प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिनु भयो ।
गाउँपालिकाले सार्वजनिक स्थानको सरसफाइ सँगै वृक्षारोपण कार्यक्रमलाई पनि तीव्रता दिएको छ । गाउँपालिकाले अहिले सम्म एक हजार बिभिन्न प्रजातिका बिरुवा रोपेको छ । टोल विकास संस्थाको अगुवाइ तथा गाउँपालिको समन्वयमा वडा कार्यालय पर्यटकीय क्षेत्र,सामुदायिक विद्यालय,मठ मन्दिर तथा बजार क्षेत्रमा बिरुवाहरू रोपेको कार्यवाहक अध्यक्ष प्रकाश भण्डारीले जानकारी दिनु भयो ।
प्रमुख प्रशासकीय अधिकृत वलीका अनुसार वनस्पति अनुसन्धान केन्द्र,मुलपानी सल्यान,मुनाल सामुदायिक बन उपभोक्ता समिति रिम र उपाध्यक्ष प्रकाश भण्डारीले उपलब्ध गराएका धुपी,कागती,अनार,कपुर,लगायतका फुल फुल्ने तथा नफुल्ने बिरुवा रोपिएको छ ।
दुई महिनाको अवधिमा ६३ वटा सार्वजनिक कार्यक्रमको आयोजना गरेर पालिका भित्रका २२ वटा टोल विकास संस्थाको अगुवाइ र आम नागरिकहरूको सहभागितामा गाउँपालिकामा रहेका बिभिन्न सार्वजनिक क्षेत्रमा सामूहिक रुपमा सरसफाइ तथा वृक्षारोपण गरिएको गाउँपालिकाले जनाएको छ ।।





.jpg)