होमपेज / समाज
सल्यान, २७ असार ।
सल्यानको कपुरकोट गाउँपालिमा हराभरा कपुरकोट बजार अभियानको सुरुवात गरिएको छ । कपुरकोट बजार व्यवस्थापन समितिले बजारका प्रमुख चोकहरूमा डस्टबीन राखेर अभियानको सुरुवात गरेको हो ।
कपुरकोट बजारलाई सरसफाइका माध्यमबाट सुन्दर बनाई बजारमा मानिसहरूको ध्यान केन्द्रित गर्न बिभिन्न सहकारी संस्थाको सहकार्यमा फोहोर व्यवस्थापन गर्ने डस्टबीन राखिएको छ । बजार व्यवस्थापन समितिको अनुरोधमा साना किसान कृषि सहकारी संस्था,कपुरकोट कृषि सहकारी संस्था,नारी विकास बचत तथा ऋण सहकारी संस्था र चेतना सामाजिक उद्यमी सहकारी संस्थाले उपलब्ध गराएको २८ वटा डस्टबीन राखिएको बजार व्यवस्थापन समितिका अध्यक्ष कुबेर केसीले जानकारी दिनु भयो ।
सरसफाइ गरेर शनिवारबाट हराभरा कपुरकोट बजार अभियान सुरु गरेको बजार व्यवस्थापन समितिले अबको केही दिनमा प्रत्येक पसल,कार्यालय तथा चोकहरूमा फुलको गमला राखेर फुलै फुलको बजार बनाउने पनि योजना बनाएको छ । त्यस अघि नेपाल प्रहरी,गाउँ प्रहरी र बजार व्यवस्थापन समितिले बजार क्षेत्रमा अव्यवस्थित रुपमा सञ्चालन गरिएका पसल,सडकमा राखिएका सामान,टाँसिएका,झुन्डाइएका होर्डिङ बोर्ड,ब्यानर लगायतको सामाग्रीको व्यवस्थापन गरिने अध्यक्ष केसीको भनाई छ ।
हराभरा कपुरकोट बजार अभियानको सुरुवात गर्दै कपुरकोट गाउँपालिका कार्यवाहक अध्यक्ष प्रकाश भण्डारीले कपुरकोटलाई केन्द्र बनाएर मुनाफाका लागि व्यवसाय गर्नेहरूले सामाजिक उत्तरदायित्व पनि बहन गर्नु पर्ने बताउनु भयो । कपुरकोट क्षेत्रमा बिभिन्न व्यवसाय गर्नका लागि धेरै पसल तथा कार्यालयहरू सञ्चालनमा छन् । ती सबैले कपुरकोटको सामाजिक कार्यमा साथ दिनु पर्दछ । ‘कपुरकोट गाउँपालिकाले जागरण कपुरकोट अभियान मार्फत बिभिन्न सार्वजनिक काम गर्दै आएको छ । सरसफाइ पनि जागरण कपुरकोटको एउटा स्वरूप हो ।’उहाँले भन्नु भयो—यस्तै किसिमका सार्वजनिक कार्यक्रम मार्फत सामाजिक कार्य गर्ने नगर्ने कार्यालयहरूको परीक्षण र मूल्यांकन हुन्छ ।
हराभरा कपुरकोट बजार सुरुवात कार्यक्रममा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष डम्बर बहादुर एरी,कपुरकोट कृषि सहकारी संस्थाका अध्यक्ष मधुसूदन गिरी,कपुरकोट कृषि उपज बजारका अध्यक्ष तिलक शर्मा,वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डा.मित्र पाठक,३ नम्बर वडा अध्यक्ष प्रदीप खड्का लगायतकाले सरसफाइ नै बजारको प्रमुख गहना भएको जनाउँदै बजार व्यवस्थापन समितिले सञ्चालन गर्ने अभियानमा पूर्ण साथ दिने प्रतिबद्धता जनाउनु भएको थियो ।





.jpg)