ट्रेण्डिङ

होमपेज / समाज

 सल्यानको बनगाड कुपिण्डेमा सुरक्षित कर्णाली विशेष अभियानको शुभारम्भ

  सल्यान खबर डेस्क २०८० असार ३१ गते आइतबार १२:४९:३९ मा प्रकाशित

असार ३१,सल्यान 

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा सुरक्षित कर्णाली विशेष अभियान २०८० अन्तर्गत कर्णाली प्रदेशका घरघरमा फोन नम्बर सहितको स्टिकर टाँस अभियानको शुभारम्भ गरिएको  छ। बनगाड कुपिण्डे नगरपालिका र इलाका प्रहरी कार्यालय देवस्थलको समन्वयमा पालिका भित्रका सबै घर घरमा फोन नम्बर सहितको स्टिकर टाँस अभियानको शुभारम्भ गरिएको हो । 

कर्णाली प्रदेशका सबै नागरिकलाई सुरक्षाको प्रत्याभूति प्रदान गर्न  र  नागरिकलाई कुनै किसिमको असुरक्षा महसुस भएमा तुरुन्त प्रहरीलाई फोन गर्न सहज होस भन्ने  उद्देश्यका लागि कर्णाली प्रदेशका सबै घरमा उक्त स्टिकर टाँस्ने अभियान सञ्चालन गरिएको बनगाड कुपिण्डे नगरपालिकाका मेयर कर्ण बहादुर बुढाथोकीले बताउनु भयो । 

उहाँका अनुसार नगरपालिका भित्रका सबै नागरिकको घरघरमा प्रहरी र जनप्रतिनिधिको अगुवाइमा अभियान सञ्चालन गरिने छ । सबै सम्पर्क नम्बर र ठेगाना सबै नागरिकहरूको पहुँचसम्म पुग्न नसकेको अवस्थामा यो अभियानले प्रत्येक घरधुरीलाई प्रहरीका बारेमा पूर्ण सूचना दिने बताउनुभयो । सूचनाका आधारमा प्रहरीको सक्रियता बढ्ने हो भने अभियानले सार्थकता पाउने बुढाथोकीले  बताउनुभयो ।

‘तपाईंको सूचना, सबैको सुरक्षा’ मूल नाराका साथ सो स्टिकरमा उल्लेख गरिएका नम्बरमा फोन गरी तपाईँको गाउँघरमा कुनै घटना÷दुर्घटना वा सुरक्षा आवश्यक परेमा तुरुन्त प्रहरीलाई खबर गर्न सकिने इलाका प्रहरी कार्यालय देवस्थलका इन्चार्ज ऋषि राम दाहालले बताउनु भयो । प्रहरीको पहिलो दायित्व जनतालाई सुरक्षा, सम्मान र सुशासनको प्रत्याभूति गराउनु रहेको उहाँको भनाई छ । 

प्रदेशलाई सुरक्षित, सुशासित, अपराधमुक्त र भ्रष्टाचारमुक्त बनाउन प्रतिबद्ध रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, प्रदेशको समृद्धिका लागि तीव्र गतिमा विकासका कार्यलाई अघि बढाएर यस प्रदेशलाई नमुना प्रदेश बनाउनुपर्छ । 

 नागरिक र प्रहरी दुवैको सहकार्यबाट मात्र शान्ति सुव्यवस्था कायम हुने भएकोले यस कार्यमा नागरिकको सहयोग वा सहकार्य अनिवार्य हुने विश्वास लिएको दाहालको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top