ट्रेण्डिङ

होमपेज / समाज

दुग्ध उत्पादन बढाउन सल्यानका किसानलाई भैँसी वितरण

  सल्यान खबर २०८० असार १२ गते मंगलबार १५:३२:४० मा प्रकाशित

असार १२, सल्यान 

दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउन भन्दै सल्यानको त्रिवेणी गाउँपालिकाले किसानका उन्नत जातका भैँसी वितरण गरेको छ । एक पालिका एक पशु वस्तु उत्पादन कार्यक्रम अन्तर्गत त्रिवेणी गाउँपालिका ३ कारावासका किसानलाई उन्नत जातका भैँसी वितरण गरिएको हो । 

दूधमा आत्मनिर्भर बनाउन र कृषिमा किसानहरूको आकर्षण बढाउन उन्नत जातका भैँसी वितरण गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख गोविन्द महतले जानकारी दिनु भयो । किसानको आर्थिक सामाजिक जीवन स्तर उकास्न र दूधमा जिल्लालाई आत्मनिर्भर बनाउन विगतका वर्षहरू झैँ यस वर्ष पनि व्यावसायिक किसानलाई भैँसी वितरण गरिएको उहाँको भनाई छ । कर्णाली प्रदेश सरकारले प्रति लिटर ५ रुपैयाँ अनुदान दिन थालेपछि व्यावसायिक भैँसी पालन गर्ने किसानहरूको सख्ंयामा समेत वृद्धि आएको महतको भनाई छ । यस वर्ष दूध उत्पादनमा वृद्धि गर्न त्रिवेणीमा १५, दार्मा गाउँपालिकामा १५ र बागचौर नगरपालिकामा १५ उन्नत जातका भैँसी वितरण गरिने बताउनु भयो । 

पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको ७० प्रतिशत, गाउँपालिकाको १० प्रतिशत र किसानको २० प्रतिशत लागतमा भैँसी ल्याइएको त्रिवेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले बताउनु भयो । आफूले लगानी नगरेसम्म नहुने भएकाले थोरै भएपनि किसानलाई लगानी गर्ने अभियान पालिकाले थालनी गरेको उहाँको भनाई छ । त्रिपक्षीय साझेदारीमा काम गरिएकाले भैँसी पालन प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको रावतको भनाई छ । 

सडक करी डोरलाई लक्षित गरी दुग्ध उत्पादन कार्यक्रमलाई अघि बढाई रहेको त्रिवेणी गाउँपालिका पशु सेवा कार्यालय प्रमुख वसन्त रावतले बताउनु भयो । सडक कोरिडोर अन्तर्गत पालिकाको वडा  न१,३ र ६ लाई भैँसी पकेट क्षेत्र निर्धारण गरी कार्यक्रम सञ्चालन गर्दै आइरहेको उहाँको भनाई छ । 

पशु अस्पताल तथा पशु सेवा कार्यालयको १५ लाख, त्रिवेणी गाउँपालिकाको ३ लाख र समूहको ३ लाख  ५० हजार गरी २२ लाख ५० हजारको लागतमा १५ भैँसी, मिल्क क्यान,वर्षे घाँसका बेर्ना, तालिम र मिनिरल वितरण गरिएको रावतको भनाई छ । 

विगतदेखि भैँसी पालन गर्दै आइरहेको र कार्यालयबाट थप भैँसी पाउँदा आर्थिक उर्पाजन मद्दत पुग्ने किसान खिम बहादुर शाहले बताउनु भयो । पालिकाले उत्पादन भएको दूध संंकलनका लागि दुग्ध सङ्कलन केन्द्र तथा चिस्यान केन्द्र स्थापना गरी दिएकाले पनि दूध उत्पादनमा समस्या नभएको उहाँको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top