होमपेज / समाज
असार २,सल्यान
सल्यानको कपुरकोट गाउँपालिकाले नागरिक सन्तुष्टि सर्वेक्षण सुरु गरेको छ । कार्यालयको सार्वजनिक सेवा प्रवाहको अवस्था पहिचान गर्न नागरिक सन्तुष्टि सर्वेक्षण सुरु गरिएको हो ।
कार्यालयको सेवा प्रभावकारी भए नभएको , जनप्रतिनिधि र कर्मचारीले गरेको व्यवहार, लगायतका विषयलाई समेटेर नागरिकको घर घरमा पुगेर सन्तुष्टि सर्वेक्षण थालनी गरिएको गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले जानकारी दिनु भयो । नागरिक सन्तुष्टि सर्वेक्षणले समृद्धि र सुशासन कायम गर्न निकै महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाई छ । उहाँले भन्नु भयो जनप्रतिनिधि र कर्मचारी नै नागरिकको घर घरमा पुगेर विभिन्न ५ सूचक भित्र रहेर सन्तुष्टि सर्वेक्षण गरी रहेका छौँ ।
गाउँपालिकाको नीति अनुसार प्रत्येक दुई दुई महिनामा ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरूको घरमै पुगेर स्वास्थ्य परीक्षण भए नभएको, २३ महिना नकटेका बालबालिकाहरूको खोपको अवस्था, स्वास्थ्य संस्था तथा वडा कार्यालयमा कार्यरत कर्मचारीको व्यवहार र सेवा प्रवाह कस्तो रहेको छ भनेर नागरिक सन्तुष्टि सर्वेक्षण गरिँदै आएको गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले बताउनु भयो । यस्तै सर्वेक्षणमा गाई गोरुमा देखिएको लम्की स्किन रोग नियन्त्रणमा पशु प्राविधिक र गाउँपालिकाको सहयोग कस्तो रह्यो, विकास निर्माणमा कतिको सन्तुष्ट हुनु हुन्छ लगायतका विषय समावेश गरिएको उहाँको भनाई छ ।
गाउँपालिकाले निरन्तर रुपमा जनताको घरदैलोमा गएर नागरिक सन्तुष्टि सर्वेको कार्यक्रम गर्ने गुनासो, जिज्ञासा वा सल्लाह अनुसरण गरी अघि बढ्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिनु भयो । उहाँका अनुसार सर्वेको प्रतिवेदन गाउँ कार्यपालिका बैठकमा पेस भई सो उपर छलफल हुनेछ भने गुनासो र कमजोरीको समीक्षा गरी कडाइका साथ सुधारमा प्रयत्न गरिनेछ ।





.jpg)