होमपेज / समाज
जेठ ५,सल्यान
सल्यानमा प्रथम जिल्ला युवा सम्मेलन शुक्रवारबाट श्रीनगरमा सुरु भएको छ । राष्ट्रिय युवा परिषद् र सल्यान दृष्टिकोणको समन्वय तथा परिणाम नेपालको आयोजनामा पहिलो पटक जिल्लामा युवा सम्मेलन सुरु भएको हो ।
परिणाम नेपालका संयोजक युवराज खड्काले राष्ट्रिय युवा नीति २०७२ अनुसारको उमेर समूहका युवाहरूको नेतृत्व तथा क्षमता विकासका लागि युवा सम्मेलन गर्न थालिएको जानकारी दिनुभयो । उहाँले यूथ भिजन २०२५ अनुसारका आधार स्तम्भमा आधारित कृषि, युवा उद्यमशीलता, सुचना प्रविधिबारे कानुनी तथा नीतिगत विषयमा विषय विज्ञबाट प्रशिक्षण प्रदान गरिने बताउनु भयो ।
राष्ट्रिय युवा नीति तथा युवा नीतिले अख्तियारी गरेका विषय बस्तुबारे युवासँग युवा परिषद् जोड्ने, जिल्लाका दश वटै स्थानीय तहका युवाहरूका सवाल स्थानीय सरकारका प्रतिनिधिसँग जोड्ने, शिक्षा र सरोकारका विषयमा प्यानल छलफल गरिने छ ।
आज पहिलो दिन सल्यान जिल्लाको शैक्षिक अवस्थामा बारेमा बहस भएको छ ।े कार्यक्रममा सहभागी शिक्षासँग सरोकार राख्ने व्यक्तिहरूले शिक्षामा रहेका समस्या हटाउन र गुणस्तरीय शिक्षा कायम गर्न सबैले हातेमालो गर्नुपर्नेमा जोड दिएका छन् । सल्यानमा शिक्षाको अवस्थामा सुधार हुन नसक्नुको पहिलो कारण शिक्षक, विद्यार्थी र अभिभावकमा शिक्षा प्रतिको मोहलाई बुझ्न नसक्नु रहेको बताएका छन् । यस्तै विद्यार्थी अनुसारको दरबन्दी र विद्यालयका भौतिक संरचना नहुनु रहेको बताएका छन् ।
नीति निर्माण तहमा बसेका व्यक्तिले नीतिमा सुधार ल्याउन सके मात्रै शैक्षिक गुणस्तर तथा शिक्षण सिकाइ हासिल गर्न सकिने वक्ताहरूको दाबी रहेको छ
कार्यक्रममा बोल्दै कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुनले सल्यानको शिक्षा प्रणालीलाई सुधार गर्न सबै पक्षको उत्तिकै भूमिका रहने बताउनु भयो । उहाँले आफ्नो कार्यकाल भित्र शिक्षामा सुधार हुने गरी काम हुने प्रतिबद्धता जनाए । उनले भने, ‘आज शिक्षामा सुधार गर्ने जुन बहस भइरहेको छ, त्यो आफ्नो कार्यकाल भित्र सुधारका सङ्केत देख्न पाइन्छ ।’
यस्तै नीराजन माध्यमिक विद्यालयका प्रधानाध्यापक धर्मराज घर्तीले आफ्नो–आफ्नो क्षेत्रबाट सुधार गर्न सके शिक्षामा सुधार हुने बताउनु भयो । यस्तै शिव जन माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक वीर बहादुर सेजवालले कुकुरलाई पाल्नेलाई नभई भैँसीलाई सम्मान गर्ने संस्कारमा परिवर्तन नहुँदासम्म शिक्षामा सुधार नआउने बताउनु भयो । शिक्षालाई रोजगारी पाउने माध्यमाका रुपमा विकास गर्ने भन्दा पनि रोजगारी सृजन गर्ने माध्यमको रुपमा विकास गर्नु पर्ने दाबी गर्नु भयो ।
शारदा नगरपालिका शिक्षा शाखा प्रमुख संगीता बुढाले शिक्षा क्षेत्रको चिन्ता र चासो लिएर आवश्यक नीति, योजना बनाउन सम्बन्धित पक्षलाई सघाउनुपर्ने आफ्नो गहन दायित्व बिर्सनु नहुने बताउनु भयो । अभिभावकले पनि आफ्ना सन्ततिका लागि उपयुक्त शैक्षिक वातावरण निर्माण तथा सुधारका लागि थप सक्रियता देखाउनु नै पर्ने अवस्था आवश्यक रहेको उहाँको भनाई छ । विद्यार्थीले आफ्नो विद्यार्थी जीवनको महत्त्व तथा प्राथमिकतालाई ध्यानमा राखेर गुणस्तरीय शिक्षाका लागि विद्यालय, शिक्षक तथा स्वयं आफैँ पनि अग्रसर हुनुको विकल्प नरहेको उहाँको दाबी छ ।
। यी सबै पक्षको सहकार्य तथा समन्वयले खस्किँदो शैक्षिक गुणस्तर उकास्न निकै महत्त्वपूर्ण कदम हुने बुढाको भनाई छ । शिक्षाको गुणस्तर सुधार्न तत्कालीन र दीर्घकालीन योजनामा बहस थाल्ने यो उपर्युक्त समय भएको बुढाले बताउनु भयो ।





.jpg)