ट्रेण्डिङ

होमपेज / समाज

विकास निर्माण र सामाजिक कार्य बढाउँदै सल्यानका महिला

  सल्यान खबर डेस्क २०८० बैशाख २१ गते बिहीबार १८:३६:४४ मा प्रकाशित

 वैशाख २१,सल्यान 

घरायसी काममा सीमित हुने महिला अहिले विकास निर्माण र सामाजिक काममा अग्रसर हुन थालेका छन् । सल्यानका अधिकांश पुरुष रोजीरोटीका लागि विदेश पलायन हुँदा महिलाहरू विकास निर्माणका कामदेखि सामाजिक कार्यसम्म आफै अग्रसर हुन थालेका छन् । 

प्रायः पुरुषहरू रोजगारीका लागि भारत, खाडी तथा नेपालका अन्य सहरमा जाने भएकाले गाउँमा महिला मात्र रहँदा सबै काम महिलाले गर्नु पर्ने बाध्यता रहेको त्रिवेणी गाउँपालिका २ की पुतली घर्तीले बताउनु भयो । उहाँले भन्नु भयो ‘गाउँका धेरै जसो पुरुष रोजगारी देखि लिएर अन्य पेसा व्यवसाय गर्न बाहिर छन् । भएका थोरै घरमा भएका पुरुषहरू पनि काम गर्न खासै अग्रसर नदेखिएपछि विकास निर्माण देखि गाउँघरमा हुने सामाजिक काम हामी महिलाहरूले नै गर्दै आइरहेका छौँ ।’ 

महिलाहरू घर बाहिर निक्लिनु हुँदै घरभित्रकै चुलो चौकोमा नै रमाउनु पर्छ भन्ने पुरानो सामाजिक मान्यतालाई तोड्न पनि महिलाहरू एकजुट भएर सामाजिक कार्यमा लागेको अर्का स्थानीय विष्णु पुनको भनाई छ । पछिल्लो समय महिलाहरू पनि चुलो  देखि विकास निर्माण र सामाजिक काममा शक्रिय हुने थालेको उहाँले बताउनु भयो । उहाँले भन्नु भयो ‘अहिले नयाँ कुरा सिक्न र सामाजिक रूपान्तरणका लागि घरपरिवारबाटै सामाजिक कार्यमा लाग्न सहयोग मिल्ने गरेको छ । पुरुषको बचस्र्व बढी रहेको हाम्रो समाजमा महिलाले काम गर्ने अवसर पायो भने परम्परावादी गाउँघर समाजलाई नै रूपान्तरण गर्न सक्छन् भन्ने देखाउनु छ ।’ गाउँघरमा हुने धारा, पधेरा, सडक, खानेपानी, सिचाई, विद्युत् भवन निर्माण लगायतका काम महिलाको विशेष सहभागिता रहने गरेको उहाँको भनाई छ । उहाँले भन्नु भयो ‘हामी गाउँमा नै बसेर विकास निर्माणका काम गरेर आम्दानी गर्ने गरेका छौँ ।’ 

गाउँमा घरधन्दा, घाँसपात मेलापात गरेर जीवन बिताउने महिला समयको परिवर्तनसँगै समाजमा हुने गरेका विभिन्न कार्यक्रम बैठक, भेला गोष्ठीमा सहभागिता जनाउन थालेको नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सल्यानकी उपाध्यक्ष सरिता चलाउनेले बताउनु भयो । चेतनाको विकास बढ्दै जाँदा ग्रामीण क्षेत्रका महिलाले सामाजिक कार्यमा निस्किने अवसर पाएको उहाँको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top