ट्रेण्डिङ

होमपेज / समाज

आमासँगै कैदी जीवन बिताउन बाध्य बालबालिका

  सल्यान खबर डेस्क २०७९ चैत्र १० गते शुक्रबार १४:००:४२ मा प्रकाशित

सल्यान : कारागार कार्यालय सल्यानमा तीन नाबालक आमासँगै जेल जीवन बिताउन बाध्य छन्। विभिन्न अभियोगमा जीवन बिताइरहेका तीन महिला कैदी आफ्ना ती नाबालकलाई कारागारमा आफूसँगै राखेका हुन्।

सल्यान कारागारमा अहिले ४ वर्षीय, २ वर्षीय र तीन महिनाको शिशु छन्। आमा अपराधमा संलग्न भएपछि घरमा रेखदेख गर्ने मान्छे नहुँदा बालबालिका जेलमा रहेका हुन्।

आफ्नो नागरिकता नहुँदा विभिन्न संघसंस्थाले पढाउने बताए पनि पठाउन नसकेको कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरी रहेकी २४ वर्षीया यमुना केसीले बताइन्। ‘मेरो नागरिकता छैन। मेरो नागरिकता नभए छोराको जन्मदर्ता नहुने रहेछ’, उनले भनिन्, ‘विभिन्न संघसंस्था हामीले पढाइदिन्छौँ भनेर आउँछन्। तर जन्मदर्ता नहुँदा समस्या भएको छ।’

नागरिकता बनाइदिन निवेदन दिए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको केसीको भनाइ छ। घरमा संरक्षक नहुँदा झोलामा कपि कलम बोकेर विद्यालय जाने उमेरमा आफूसँगै जेलमा राख्नु पर्ने बाध्यता रहेको केसीले बताइन्।

कारागारमा रहेका तीन बालबालिका मध्ये विद्यालय जाने उमेरको एक जना मात्र भएको कारागार कार्यालय सल्यानले जनाएको छ। ती बालकलाई विद्यालय जाने वातावरण बनाउन विभागमा पत्राचार गरेको कारागार कार्यालय सल्यानका कारागार प्रशासक राजन कडेँलले जानकारी दिए।

विद्यालय जानसक्ने अवस्था नभएपछि कारागार भित्रै कापी कलम किनेर महिला कैदीलाई नै पढाउने जिम्मा दिएको उनले बताए। 'अहिले कारागारमा ३ बालबालिका छन्। चार, दुई र तीन महिनाको, हामीलाई अहिले समस्या भनेको विद्यालय जाने उमेर भएको एक बालकको मात्र हो’, उनले भने, ‘दुई वर्षको बालकको आमाबुबा नै जेलमा छन्।  वैशाखमा कैद भुक्तान भएर गइहाल्छन्। अर्को तीन महिनाको मात्र भएको छ।'

अभिभावकसँगै कैद हुनुपर्दा बालबालिका पठनपाठन, खेलकुद र मनोरञ्जन लगायत अधिकारबाट वञ्चित छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top