होमपेज / समाज
सल्यान,७ चैत
सल्यानको कपुरकोट गाउँपालिकामा निःशुल्क लोक सेवा तथा शिक्षक सेवा आयोगको तयारी कक्षा एक कार्यक्रमका बिच समापन गरिएको छ ।
कपुरकोट गाउँपालिका भित्रका युवाहरुलाई सरकारी सेवामा प्रबेश गराउने उदेश्यले गाउँपालिको ११ औं गाउँसभाबाट युवा लक्षित कार्यक्रमका लागि बिनियोजित गरिएको बजेटबाट निःशुल्क लोक सेवा तथा शिक्षक सेवा तयारी कक्षा सञ्चालन गरिएको हो ।
करिब दुई महिना अघि देखि नेपाल राष्ट्रिय माध्यामिक बिधालय किमुचौरमा प्रत्यक्ष तथा अनलाइन मार्फत सञ्चालन भएको तयारी कक्षामा गाउँपालिका भित्रका एक सय बढी युवाहरुले तयारी कक्षामा सहभागिता जनाएका थिए ।
गाउँपालिकाले निःशुल्क तयारी कक्षा सञ्चालन गरे पछि लोक सेवा तथा शिक्षक सेवा तयारी कक्षा लिने सपना पुरा भएको प्रशिक्षार्थीको भनाई रहेको छ । गाउँपालिकाले युवाहरुको तयारी कक्षा पढ्ने ईच्छालाई पुरा गरेको भन्दै तयारी कक्षाबाट आफुहरुले धेरै कुरा सिकेकाले गाउँपालिकाको लगानीलाई खेर जान नदिने प्रशिक्षार्थीहरुले प्रतिबद्धता जनाए ।
तयारी कक्षामा सहभागि भएका प्रशिक्षार्थीहरुलाई सफल्ताको शुभकामना दिंनु हुदै गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले गाउँपालिकाले चालेको प्रयासलाई सफल बनाउन सबै प्रशिक्षार्थीलाई कडा परिश्रम गर्न अनुरोध गर्नु भयो । पुनले तयारी कक्षा लिएकाहरु सरकारी सेवामा प्रबेश गरेको देख्ने इच्छा भएको बताउदै लोक सेवा तथा शिक्षक सेवा तयारी कक्षालाई प्राथामिकतामा राखेको जनाउनु भयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीको अध्यक्षतामा भएको समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले गाउँपालिकामा लोक सेवा तथा शिक्षक सेवा कक्षा सञ्चालनका लागि यस भन्दा अगाडी अभ्यास नभएकाले पहिलो पटक अभ्यास गरिएको बताउनु भयो । भण्डारीले तयारी कक्षा बिना नै कपुरकोट गाउँपालिकामा यस बर्ष मात्रै दुई दर्जन बढीले सरकारी सेवामा प्रबेश गरेर शुभ संकेत गरेको जानकारी गराउंदै आगामी बर्षमा गाउँपालिकाले सञ्चालन गरेको तयारी कक्षाले युवाहरुलाई सरकारी सेवामा प्रबेश गर्नका लागि थप महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो ।
तयारी कक्षाका मुख्य प्रशिक्षक तथा गाउँपालिकाका योजना तथा प्रशासन शाखा प्रमुख खगेन्द्र बहादुर शाहीले सहजिकरण गरेका कार्यक्रममा नेपाल राष्ट्रिय मा.बि.का प्रधानाध्यापक दामोदर शर्मा,कपुरकोट बहुमुखि क्याम्पसका प्रमुख रुपलाल एरीले प्रशिक्षार्थीलाई शुभकामना दिनु भएको थियो ।





.jpg)