होमपेज / समाज
चैत ६,सल्यान
सल्यानको सिद्ध कुमाख ३ हुँदै प्रदेश राजधानी जोड्ने ढोरचौर– छापडाँडा–डाँडाकटेरी– मैदुपोखरी– सल्लीबजार सडकको स्तरोन्नतिको काम सुरु भएको छ । ट्याक खोलेको झन्डै १५ वर्षपछि स्तरोन्नतिको काम सुरु भएको हो ।
कर्णाली प्रदेश सरकारको बुहवर्षिय योजना अन्तर्गत पूर्वाधार विकास कार्यालय सल्यानले १५ करोड ५९ लाखको लागतमा स्तरोन्नतिको काम सुरु गरेको हो । २०६४ सालमा शान्ति तथा पुनर्निर्माण मन्त्रालय मार्फत ट्याक खोलिएको थियो । २०८१ पुस १३ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी खरीढुंगा हमाल जे.भी ले सडक स्तरोन्नतिको जिम्मा लिएको पूर्वाधार विकास कार्यालय सल्यानका प्रमुख इ. रूपक रावलले जानकारी दिनु भयो ।
१३ दशमलव ८ किलोमिटर ग्राभेल र १२ किलोमिटर डबल कटिङ गरी सडकको स्तरोन्नति गरिने उहाँको भनाई छ । प्रदेश सरकारको बहु वर्षीय योजना अन्तर्गत यस सडकलाई प्राथमिकतामा राखेर काम अघि बढाइने रावलले बताउनु भयो ।
सोमबार सडकको शिलान्यास गर्दै कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले विकास र उत्पादनलाई साथसाथै जोडेर लग्न सके उक्त विकास दिगो हुने बताउनु भयो । सडक खन्नु मात्र विकास नभई किसानहरूले उत्पादनमा वृद्धि गर्नु र उक्त उत्पादन सहज रुपमा बजारीकरण गर्नु सबैभन्दा ठुलो विकास त्यो हुने उहाँको भनाई छ । उहाँले भन्नु भयो ‘आर्थिक उपार्जनसँग विकासलाई जोड्न सकिएन भने त्यसले झनै मानिलाई परनिर्भर बनाउँछ । त्यस कारण जनताको आर्थिक उपार्जनमा वृद्धि भयो भएन त्यसलाई मापन गर्न जरुरी छ ।’
बुहवर्षीय योजना अन्तर्गत प्रदेश राजधानी जोड्न छोटो दूरीको सडकको काम अघि बढेको मन्त्री शर्माको भनाई छ । उहाँले भन्नु भयो ‘वैकल्पिक मार्गका रुपमा यो सडकले धेरै लाभ दिने प्रदेश सरकारको विश्वास छ ।’
यस्तै सिद्ध कुमाख गाउँपालिका अध्यक्ष भरत गिरीले निर्माण कम्पनीले परिमाणात्मक र गुणात्मक दुवै काम प्रभावकारी रुपमा अघि बढाउनु पर्ने बताउनु भयो ।





.jpg)