होमपेज / समाज
फागुन २२,सल्यान
यस वर्षको हिउँद याममा वर्षा नभएपछि हिउँदे बाली खेतबारीमै सक्न थालेका छन् । हिउँदे बाली लगाएदेखि एक पटक मात्र वर्षा हुँदा सल्यानका किसान चिन्तित भएका छन् । हिउँदे वर्षा नभएपछि यो वर्ष उत्पादनमा कमी आउने अनुमान गरिएको छ ।
वर्षा नभएपछि सिँचाइको अभावले गहुँ, जौ, चना, मुसुरो लगायतका हिउँदे खेती खेतबारीमै सक्न थालेको शारदा नगरपालिका ६ खतिगाउँकी द्रुपति खत्रीले बताउनु भयो । यो समयमा गत वर्ष धेरै पटक वर्षा भएको थियो , तर अहिले एक पटक पनि पानी परेको छैन । पाखो बारीमा लगाएको गहुँ, तोरी, मुसुरो सबै सुक्न थालेका छन् उहाँले भन्नु भयो ।
आकाशे झरी नहुँदा बारीमा छरेको बीउ पनि उठ्दैन जस्तो भएको अर्का किसान अमृता बस्नेतले बताउनु भयो । उहाँले भन्नु भयो आकाशबाट पानी नपर्दा पाखो बारीमा त केही भएन सिँचाइ भएको खेतको बालीनाली पनि राम्रो छैन । आकाशे पानी जस्तो हुँदो रहेनछ ।
खडेरीका कारण हिउँदे बालीको उत्पादनमा कमी आउने भएपछि खाद्यान्न आयातमा वृद्धि हुने आङ्कलन गरिएको छ । वर्षा नहुँदा हिउँदे बालीका साथै फलफूलका बोटबिरुवा पनि सुक्दै गएको धिरना बुढाथोकीले बताउनु भयो । सिँचाइ सुविधा नभएका ठाउँमा खडेरीको प्रभाव परेको र यसले उत्पादनमा कमी आउने उहाँको भनाई छ । उहाँले भन्नु भयो ‘जिल्लामा अधिकांश भिरालो ठाउँमा खेती हुँदै आइरहेको छ, आकाशे पानीका भरमा खेती हुँदै आइरहेको छ, यो वर्ष लामो खडेरी भयो, जसका कारण भिरालो जमिनमा हिउँदे बाली निकै कम छ ।’
कृषि विकास कार्यालयका अनुसार जिल्लामा करिब १४ हजार २ सय हेक्टर क्षेत्रफलमा गहुँ खेती हुँदै आएको छ । ४५ हजार ५ सय ६७ हेक्टर खेतीयोग्य जमिन मध्ये ३८ हजार ९ सय २६ हेक्टरमा मात्र खेती हुँदै आइरहेको छ । सिँचाइ सुविधा नहुँदा यहाँका किसानहरूले आकासे पानीको भरमा खेती गर्दै आइरहेका छन् । ७ हजार ५९ हेक्टर खेत र ३१ हजार ८ सय ६७ हेक्टर पाखो बारी रहेको जिल्लामा करिब १० हजार हेक्टरमा मात्र आंशिक तथा वर्ष भरी सिँचाइ सुविधा रहेको छ ।





.jpg)