होमपेज / समाज
माघ ११,सल्यान
सल्यानमा गरिब घरपरिवार परिचय पत्र वितरण सुरु गरिएको छ । बुधवार जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १ बाट गरिब घरपरिवार परिचय पत्र वितरण सुरु गरिएको हो । सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत स्थानीय तहको समन्वयमा गरिब घरपरिवार पहिचान गरिएको थियो ।
नगरपालिका भित्रका १ हजार ४ सय ३५ रहेको गरिब घरपरिवार रहेको भनी पहिचान गरिएको बनगाड कुपिण्डे नगरपालिकाले जनाएको छ । पहिचान भएका १ हजार ४ सय ३५ मध्ये अति गरिब वर्गमा ३३८, मध्यम वर्गमा ६ सय ९२ र सामान्य गरिबमा ४ सय ५ रहेको मेयर कर्ण बहादुर बुढाथोकीले जानकारी दिनु भयो । १८ वटा सूचकको आधारमा गरिब पहिचान गरिएको उहाँको भनाई छ ।
विपन्न तथा गरिबका लागि कार्यक्रम सञ्चालन गरे पनि वर्गीकरण नहुँदा ती समुदायका लागि सञ्चालित कार्यक्रम प्रभावकारी हुन सकेको थिएन । परिचय पत्र पाउने गरिबलाई आयमूलक कामको लागि सीप सिकाउन, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गर्न, खाद्य सुरक्षा सुनिश्चित गर्न सहज हुने बुढाथोकीको भनाई छ ।
परिचयपत्रको आधारमा स्वास्थ्य बिमा, छात्रवृत्ति, सीपमूलक, तालिम सहकारी मार्फत ऋणको कार्यक्रम सञ्चालन हुने नगरप्रमुख बुढाथोकीको भनाई छ ।
गरिबी न्यूनीकरण गरी गरिब जनतालाई आर्थिक रुपमा आत्मनिर्भर र सक्षम बनाउन सञ्चालित कार्यक्रम एक द्वार प्रणालीबाट सञ्चालन गर्न यो कार्डले सजिलो हुने सरोकारवालाको बुझाइ छ । गरिबी निवारणको काम राज्यको प्रमुख दायित्व भएकाले गरिबी निवारणका लागि पर्याप्त बजेट विनियोजन भए पनि सदुपयोग हुन नसकेको टिप्पणी हुँदै आएको थियो । गरिबीका कार्यक्रम नियमन र एकीकृत नहुँदा दोहोरोपना सहित दुरुपयोग हुने गरेको गुनासो आउने गरेको छ ।
गरिबी अन्त्य गर्न सरकारले २०५९ सालमा गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण समन्वय बोर्ड गठन गरेर गरिबको पहिचान सुरु गरेको थियो ।





.jpg)