होमपेज / समाज
पुस २९,सल्यान
सल्यान त्रिवेणी गाउँपालिका ४ ले जेष्ठ नागरिक तथा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई सम्मान गरेको छ । शुक्रबार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी वडा भित्र रहेको ७५ वर्ष माथिका जेष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिलाई सम्मान गरेको वडा कार्यालयले जनाएको छ ।
वडा भित्ररहेका ७५ वर्ष माथिका जेष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका ४० व्यक्तिलाई चिसोबाट बच्न न्यानो कपडा प्रदान गरी सम्मान गरिएको वडाध्यक्ष छविराज शर्माले जानकारी दिनु भयो । वार्षिक कार्यक्रम अन्तरगत वर्षेनी यस प्रकारको कार्यक्रम गर्दै आइरहेको उहाँको भनाई छ । हरेक व्यक्ति जीवनमा एक पटक जेष्ठ नागरिक हुने बताउँदै उहाँले जेष्ठ नागरिकको सम्मानमा पछि नपर्ने बताउनु भयो ।
सम्मान कार्यक्रममा बोल्दै त्रिवेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले ज्येष्ठ नागरिक बोझ नभई हाम्रो बुद्धिका स्रोत भएको बताउनु भयो । विकास निर्माणमा आइपर्ने जोखिम र अवरोधहरूलाई ज्येष्ठ नागरिकले विगतमा प्रत्यक्ष भोगेका र समाधानमा अपनाएका ज्ञान, सीप र दक्षता आदि अनुभवको प्रयोगबाट सहज रूपमा समाधान खोज्न टेवा पुग्ने उहाँको भनाई छ । यस्ता प्रयोग र अभ्यासले समय र लगानीको बचत गर्न सकिन्छ उहाँले भन्नु भयो ।
परम्परागत कला–संस्कृतिको संरक्षण र पुस्तान्तरणका साथै पर्यटन प्रवद्र्धनमा समेत सदुपयोग गर्न सकिने उहाँको भनाई छ । देश विकासको महायज्ञमा सबै उमेरका जनताको सक्रिय सहभागिता अपरिहार्य रहन्छ । तुलनात्मक रूपमा युवावर्गको योगदान उल्लेख्य रहने भए तापनि ज्येष्ठ नागरिकको भूमिकालाई पनि नजरअन्दाज गरिनु नहुने रावतले बताउनु भयो । ज्येष्ठ नागरिकले आफ्नो जीवनकालमा भोगेका असीमित अनुभवहरूको सदुपयोग देश विकासमा लगाउने योजना तथा नीतिहरू राज्यले बनाउन चुक्न नहुने उहाँको भनाई छ





.jpg)