होमपेज / समाज
पुष ४,सल्यान
नेपाल पत्रकार महासंघ सल्यानको छैठौं साधारण सभा सम्पन्न भएको छ । संस्थाको सांगठनिक तथा आर्थिक प्रतिवेदन पास गर्दै साधारण सभा सम्पन्न भएको हो । महासंघ जिल्ला शाखा सचिव टिकाराम भण्डारीले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष शिवलाल डाँगीले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । साधारण सभाको बन्द सत्रले उक्त प्रतिवेदन पास गरेको हो ।
त्यस्तै संचार क्षेत्रको संस्थागत विकासको लागि पहल गर्ने, संचार क्षेत्रको दीर्घकालिक विकासको लागि महासंघले भावि योजना निर्माण गर्ने तथा मिडिया मैत्री कानून निर्माणका लागि सम्पुर्ण स्थानीयतहलाई अनुरोध गर्ने विषयमा समेत साधारण सभामा छलफल चलेको महासंघका अध्यक्ष नविन पौडेलले जानकारी दिनु भयो ।
साधारण सभाको उद्घाटन सत्रमा बोल्दै सल्यान प्रदेश सभा (क) का सदस्य भीम प्रकाश शर्माले पत्रकारको क्षमता र सफलता भनेको सूचना खोज्नु, पत्ता लगाउनु र सार्वजनिक गर्नु भएको बताउनु भयो । निरंकुश राजतन्त्र अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेपाली सञ्चार माध्यमले खेलेको भूमिका महत्वपूर्ण रहेको र अन्तर्राष्ट्रिय जगत् र आमनागरिकले त्यसको प्रशंसा पनि गरेको बताउँदै स्तरीय र सन्तुलित विषयवस्तु पस्कन सक्नु पर्ने बताउनु भयो ।
यस्तै प्रदेश सभा (ख) का सदस्य सुरेश अधिकारीले राज्यका तीन महत्वपूर्ण अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको निगरानी गरी तिनीहरूबीच सन्तुलन कायम गर्नका लागि पत्रकारिताको महत्वपूर्ण भूमिका रहने बताउनु भयो । पत्रकारिताको स्वतन्त्रतासँग नागरिकले सूचना पाउने आर्थात् जान्न पाउने हक जोडिएको बताउँदै उहाँले सार्वजनिक महत्वका कुरा जान्न पाउनु सार्वभौम अधिकार भएको र त्यसका लागि सञ्चार माध्यमको संरक्षण र यसको सम्मान गर्नुपर्छ भन्ने चेतना सर्वसाधारणमा जगाउन आवश्यक रहेको दावी गर्नु भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष देविराम देवकोटाले पत्रकारको मूल धर्म नै निष्पक्षता र निरपेक्षता रहेको बताउनु भयो । सत्यतथ्य समाचार प्रस्तुत गर्नु मात्रलाई पत्रकारको धर्म नमानिने बताउँदै उहाँले निष्पक्षता र सन्तुलनलाई ध्यान दिनु पर्ने बताउनु भयो ।
दुई पत्रकार सम्मानित
साधारण सभाको अवसरमा महासंघले विशेष पत्रकारिता पुरस्कारबाट पत्रकार खकेन्द्र केसी र बर्ष उत्कृष्ट पुरस्कारबाट पत्रकार वुद्धि पुनलाई पुरस्कृत गरेको छ । केसी लेकाली सञ्चालन गर्दै आउनु भएको छ भने पुन रेडियो राप्ती लगायतका आवद्ध रहदै आउनु भएको छ ।
.jpg)





.jpg)