ट्रेण्डिङ

होमपेज / समाज

बगरमा परिणत भएको खेतमा धान खोज्दै सल्यानका किसान

  सल्यान खबर डेस्क २०७९ कार्तिक ३ गते बिहीबार १६:११:२० मा प्रकाशित

कात्तिक ३,सल्यान 

पाक्नै लागेको धान बाढीले बगाएपछि सल्यानका किसानहरू हिजोआज बगरमा धानका बाला खोजी रहेका छन् । 

 एक साता परेको अविरल वर्षासँगै आएको बाढी पहिरोले पाकेर पहेलपुर भएको धान बाली बगरमा परिणत गरेपछि बगरमा किसान धान खोजी रहेका छन् । पाक्नै लागेको धान, भित्र्यान तयार भएको मकै बाढी र पहिरोले बगाउँदा किसान चिन्तित भएका छन् । 

शारदा नदीमा आएको नदीले धान सँगै पाँच रोपनी खेत नै बगाएर लगे पछि परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताएको शारदा नगरपालिकाका १२ का मङ्गलबहादुर अधिकारीले बताउनु भयो ।  शारदा किनारमा पहेरपुर भएर पाकिसकेको धान दसैँ मनाएर काट्ने तयारी थियो । तर एक साता परेको लामो वर्षाका कारण शारदा नदिमा बाढी आएपछि धान काट्ने त के, उहाँले लगाएको धान सँगै पाँच रोपनी खेत नै बगाएर लग्यो । 

छत्रेश्वरी गाउँपालिका राना गाउँकी मुना रानाको पिडा पनि यो भन्दा फरक छैन, धान काट्ने बेलामा पानी पर्ला, बाढी आउँला, ठुलो नोक्सान गर्ला भन्ने  सोच थिएन तर नसोचेकै भयो । २५ मुरी धान फल्ने खेत सबै बाढीले बगाएर लगेको छ । 

कपुरकोट ५ सलामका विजयसिंह बुढाको घर सहित खेतबारी पनि पहिरोले बगायो । उहाँ स्थानीय सरकारले व्यवस्थापन गरेको विद्यालयमा बसिरहनु भएको छ । यहाँका १४ घरपरिवारको घर खेतीयोग्य जमिन पहिरोले बगाएको छ । 

अन्नबाली मकै र धान बाली बगाएका किसान यति बेला राहतको आशामा बसेका छन् । शारदा नगरपालिका १२ की खुमा अधिकारीले आफ्नो दुखमा सरकारले सहयोग गर्ने आशा गर्नु भएको छ । शारदा नगरपालिका १२ डाँग्रीका रेसम बुढाको ४ रोपनीमा लगाएको धान मध्ये करिब ३ रोपनी खेतमा लगाएको धान बालुवामा मिसिएको छ । करिब ३० मुरी धान नोक्सान भएको बुढाले बताउनुभयो । 

विशेष गरी शारदा नदी , बन्गाड, कपुरकोट ,कुमाख, छत्रेश्वरी, कालीमाटी, त्रिवेणीमा बढी क्षति भएको छ । खोलाको छेउछाउमा रहेका खेत डुबान र कटान भएकाले शारदा नदी र बनगाड आसपासको क्षेत्रमा बढी क्षति भएको छ ।

 अविरल वर्षा सँगै आएको बाढीले सल्यानमा करिब १ हजार २ सय रोपनी क्षेत्रफलमा लगाएको धान बालीमा क्षति गरेको छ । कृषि विकास कार्यालय सल्यानका कार्यालय प्रमुख भरत बस्नेतले २ हजार बढी रोपनीमा क्षति पुगेको बताउनु भयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top