होमपेज / समाज
पुस ३,सल्यान
पछिल्लो समय सल्यानमा किवी खेती प्रति किसानको आकर्षण बढ्दै गएको छ । बाँझो हुँदै गएको जग्गामा राम्रो उत्पादन हुन थालेपछि किवी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको हो । रोपेको एक वर्ष पछि देखि नै उत्पादन दिन भएकाले पनि किसानहरू व्यावसायिक किबीखेती गर्दै आएका छन् ।
अन्य अन्नबाली भन्दा झन्डै तीन गुणाभन्दा बढी प्रतिफल किवीबाट लिन सकिने छत्रेश्वरी गाउँपालिका २ बुराँसेका चित्र बहादुर केसीले बताए । यो वर्ष मात्र २० क्विन्टल किवी बिक्री गरेको उनको भनाई छ । व्यापारीले बोटबाट नै प्रतिकिलो १ सय ५० रुपैयाँका दरले खरिद गरेको उनको भनाई छ । सुरुमा परीक्षणका लागि लगाएको किवीले राम्रो उत्पादन र बजार मूल्य पाउन थालेपछि बुराँसेका सबै घरधुरीले किवी खेती सुरु गरेको केसीको भनाई छ ।
थोरै लगानीबाट पनि राम्रो आम्दानी लिन सकिन्छ । यो वर्ष मात्र मैले २० क्विन्टल बिक्री गरी सके । अझै थोरै बाँकी छ बिक्रीका लागि कुनै समस्या छैन । उनले भने ।
गाउँलेहरूमा बिस्तारै व्यावसायिक कृषिको सोच विकास भएको बताउँदै उनले भने बिस्तारै कृषि पेसाप्रतिको साच परिवर्तन हुँदै गएको छ । अहिले किवी खेतीप्रति दजनौं किसानको आकर्षण रहेको छ ।

यस्तै बुराँसेकै तेज बहादुर योगीले पनि झन्डै चार रोपनी बढीमा किवी खेती गर्दै आइरहेका छन् । सल्यानमै पहिलो पटक व्यावसायिक किवी खेती सुरु गरेका योगीले किवीबाट वार्षिक ३ देखि ४ लाख आम्दानी गर्दै आइरहेका छन् । कोरोना महामारीका कारण दुई वर्ष बजारीकरणमा समस्या भएपनि यो वर्ष भने समयमै किवी बिक्री भएको उनको भनाई छ ।
किवी खेतीका लागि सल्यानको हावापानी र भूगोल मिलेकाले जिल्लामा किवी खेतीको राम्रो सम्भावना रहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । किवी खेतीलाई प्रवर्द्धन गर्न किवी पकेट क्षेत्र निर्धारण गरी काम अघि बढाई रहेको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेसम कुमार बस्नेतले जानकारी दिए । उनका अनुसार जिल्लामा अहिले १६ हेक्टर क्षेत्रफलमा व्यावसायिक किवी खेती हुँदै आइरहेको छ ।





.jpg)