होमपेज / समाज
सल्यान २६, मङ्सिर ।
सल्यानका स्थानिय तहहरूले जिल्ला भित्र नै प्रसारणमा रहेका सामुदायिक रेडियोहरूको उपयोग गर्न नसकेको एक कार्यक्रमका सहभागीहरूले गुनासो गरेका छन् । जिल्लामा रहेका एफएम रेडियोहरूले हरेक नागरिकलाई छिटो, छरितो र स्तरीय रुपमा सुचना प्रवाह गर्दै आएको भएपनि स्थानिय तहहरूले भने यसको उपयोग गर्न नसकेको सरोकारवालाहरूले गुनासो गरेका हुन् ।
शारदा मिडिया सङ्गमद्वारा सञ्चालित रेडियो राप्ती एफ.एम. १०४.८ मेगाहर्जको १४ औँ वार्षिकोत्सवका अवसरमा आइतबार खलङ्गास्थित रेडियोको प्राङ्गणमा आयोजित कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् । अझै पनि जिल्लाका कुनाकन्दरामा सञ्चारका अरू साधनको पहुँच पुग्न नसकेको अवस्थामा स्थानिय एफएम रेडियो नै सुचना प्रवाहको भरपर्दो माध्यम भएको उनीहरूको भनाइ छ ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले आम नागरिकलाई सुसूचित गर्ने काम एफएम रेडियोबाट नै भइरहेको बताउनुभएको छ । तर पनि जिल्लाका स्थानिय तहहरूले जिल्लामा रहेका एफएम रेडियोको भरपुर उपयोग गर्न नसकेको उहाँको भनाई छ । उहाँले अहिले पनि रेडियोको लोकप्रियता कायमै रहेको र आगामी दिनमा पनि कायम रहने विश्वास व्यक्त गर्नुभयो ।
‘रेडियोको विश्वसनीयता समाजमा कायमै छ, तर जिल्लाका स्थानिय तहले रेडियोको वृद्धि विकासको बारेमा सोच्नुपर्दछ’ उहाँले भन्नुभयो ‘एफएम रेडियोसँग साझेदारी गरेर अगाडी बढ्नुपर्दछ ।’ उहाँले परिवर्तित समयको माग सँगै रेडियोबाट प्रशारण हुने सामाग्रीमा पनि नयाँपन हुनुपर्ने बताउनुभयो ।
यस्तै जिल्ला हुलाक अधिकृत धिरेन्द्र भण्डारीले रेडियोले समाजमा सकारात्मक प्रभाव पार्ने खालका सामाग्री प्रशारण गर्नुपर्ने बताउनुभयो । लोककल्याणकारी विज्ञापनलाई प्राथमिकता दिनुपर्ने बताउँदै केन्द्र, प्रदेश र स्थानिय तहका बिचमा समन्वयात्मक सम्बन्ध कायम गरेर अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयो ।
यस्तै नेपाल पत्रकार महासङ्घ सल्यानका उपाध्यक्ष सरिता चलाउनेले ग्रामीण भेगहरूमा सामुदायिक रेडियोप्रतिको आकर्षण धेरै रहेको बताउनुभएको छ । देशमा भएका आमूल परिवर्तनको बेला होस् या कोरोनाका कारण देशभरको जनजीवन अस्तव्यस्त भएको अवस्थामा होस् नागरिकको सूचनाको भरपर्दो माध्यम सामुदायिक रेडियो भएको उहाँको भनाइ छ ।
शारदा मिडिया सङ्गमका अध्यक्ष रमेश गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव मनवीर बस्नेतले गर्नुभएको थियो । सल्यान जिल्ला कै पहिलो रेडियोका रुपमा २०६४ साल मङ्सिर २६ गते देखी नियमित प्रशारण सुरु गरेको यस रेडियोले सत्य तथ्य समाचार, सुचना, विज्ञापन, गीतसङ्गीत प्रशारण गर्दै आएको छ ।





.jpg)