ट्रेण्डिङ

होमपेज / समाज

कुपिण्डे ताल संरक्षण गर्न तटबन्ध

  सल्यान खबर डेस्क २०७८ मंसिर २३ गते बिहीबार १६:१४:१५ मा प्रकाशित

सल्यानको मुख्य पर्यटकीय गन्तव्य कुपिण्डेताल संरक्षणका लागि आसपासका खहरे खोलामा तटबन्ध गरिएको छ । खोलाले बगाएर ल्याएको ढुंगामाटोका कारण ताल पुरिँदै गएपछि तटबन्ध गरिएको हो 

डिभिजन वन कार्यालयले ४० लाख रुपैयाँ खर्चेर खोलामा तटबन्ध गरेको छ । कार्यालयका प्रमुख रमेशकुमार गिरीले २ खोलामा पक्की तारजालीसहितका २० देखि ५० मिटरसम्मका ८ वटा तटबन्ध निर्माण गरिएको बताए । उनका अनुसार तटबन्ध निर्माण गरेपछि अहिले खहरे खोलाबाट ढुंगामाटो बग्न छाडेको छ । ‘अहिले खहरे खोलामा पनि पानी बढेपछि तालको आकार पनि बढिरहेको छ,’ उनले भने, ‘बर्सेनि वर्षायाममा आउने बाढीले तालमा ढुंगामाटो थुपार्ने गर्छ, तटबन्धले आसपासको क्षेत्रबाट खस्ने पहिरो पनि जोगाएको छ ।’

ताल व्यवस्थित गर्न काठका पुराना डुंगा पनि विस्थापित गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार काठका डुंगाबाट दुर्घटनाको जोखिम बढेपछि ४० लाख रुपैयाँको लगानीमा ३ वटा आधुनिक प्लास्टिकका डुंगा सञ्चालनमा ल्याइएको हो । डुंगामा हावा भर्ने पम्प, लाइफ ज्याकेट लगायत सुरक्षा सामग्री पनि थपिएको डिभिजन प्रमुख गिरीले बताए । उनले यो वर्ष यात्रु प्रतिक्षालय पनि निर्माण गरिएको जानकारी दिए ।

तटबन्धले ताल जोगाउन ठूलो सहयोग गरेको बन्गाडकुपिण्डे नगरपालिका–८ का वडाध्यक्ष कुलबहादुर पुरीले बताए । ‘ताल संरक्षणका लागि पञ्चवर्षीय योजना बनाई कार्यान्वयनमा लगिएको छ,’ उनले भने, ‘पर्यटक भित्र्याउन ताल संरक्षण र पूर्वाधार विकासमा जोड दिइएको छ ।’

तटबन्धले तालको चौडाइ झन्डै १ सय मिटर बढेको उनले जानकारी दिए । उनका अनुसार ताल क्षेत्र संरक्षण गर्न यसअघि झन्डै २ करोड रुपैयाँ खर्च भए पनि प्रभावकारी भएको थिएन । ताल बढेपछि घुम्न आएका पर्यटकले नजिकैको मन्दिर पुग्न डुंगा प्रयोग गरिरहेको वडा कार्यालयले जनाएको छ ।

ekantipur

प्रतिक्रिया

सम्बन्धित खवर

Top