होमपेज / समाज
पदम थापा मङ्सिर २२,सल्यान
सल्यानका धेरै युवाहरूको आकर्षण वैदेशिक रोजगारी रहेको छ । रहर र बाध्यता जे जस्तो भएता पनि पैसा कमाउन विदेश नै जानु पर्छ भन्ने मान्यता समाजमा व्याप्त रहेको छ ।
धेरै युवायुवतीहरू स्वदेशमा रोजगारी नपाएको भन्दै परदेश गइरहँदा सल्यानका एक युवाले भने आफ्नै गाउँमा व्यावसायिक बङ्गुर पालन सुरु गरेका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका –९ सेराका २७ वर्षीय खिलक बुढाथोकीले व्यावसायिक बङ्गुर पालन सुरु गरेका हुन । शुभकामना पशुपक्षी तथा कृषि फर्म नै दर्ता गरेर बुढाथोकीले ३१ लाखको लगानीमा व्यावसायिक बङ्गुर पालन सुरु गरेका हुन ।
इच्छा शक्ति, जोस जाँगर भएमा स्वदेशमा पनि सुन फलाउन सकिन्छ भन्ने उद्देश्यका साथ बंगुरपालन सुरु गरेको उनको भनाई छ । उनले भने ‘विदेशमा गए बसी बसी पैसा आउँछ जस्तो गरी धेरै युवायुवतीहरू विदेशको मोहमा विदेशी रहेका छन् तर विदेशमा गर्ने मेहनत र परिश्रम आफ्नै गाउँघरमा गर्न सके यही राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सोचका साथ व्यवसायमा हात हालेको छु ।’
६ वटा बङ्गुरबाट व्यवसाय सुरु गरेका बुढाथोकीले बजारको मागलाई दृष्टिगत गरी एक सयसम्म बङ्गुर पालन गर्ने सोच बनाएको बताए । बजारमा बङ्गुरको मासुको भन्दा पाठापाठीको माग बढी देखिएकाले मासुलाई लक्षित भन्दा पनि पाठापाठी बिक्रीलाई पहिलो प्राथमिकतामा राख्ने उनको भनाई छ । एउटै पाठापाठीको मूल्य ५ हजार देखि ७ हजारसम्म पर्ने भएकाले पाठापाठी बिक्री गर्ने सोच बनाएको बुढाथोकीले बताए । एउटै माउ बङ्गुरले वर्षको तीन पटक १० देखि १२ सम्म पाठापाठी दिने उनको भनाई छ ।





.jpg)