होमपेज / समाज
मङ्सिर २२,सल्यान
सल्यानमा ७१ प्रतिशत घटना मदिरा सेवनबाट हुने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानमा विगत तीन वर्षमा दर्ता भएको मुद्दाको प्रतिकृत हेर्दा ७१ प्रतिशत घटना मदिरा सेवनबाट भएको पाइएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानको तीन वर्षको तथ्याङ्कमा ३ सय ११ मुद्दा दर्ता भएकोमा २ सय २१ मुद्दा मादक पदार्थ सेवन गरी घटेका घटना भएको पाइएको छ ।
आर्थिक वर्ष २०७५÷०७६ मा ६२, आ.व. २०७६÷०७७ मा ६४ र आ.व. २०७७÷०७८ मा ९५ गरी २ सय २१ मुद्दा मदिरा सेवनबाट घटेका घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले बताए । मदिरा सेवनकै कारण समाजमा महिला हिंसा, घरेलु हिंसा, अभद्र व्यवहार, जबरजस्ती करणी, ज्यान पार्ने धम्की, सवारी ज्यान, कर्तव्य ज्यान लगायतका घटना भइरहेको उनको भनाई छ ।
घरेलु मदिराले मात्र पनि बढी मात्रामा ब्रान्डेड मदिराले घटना बढाएको खड्काको भनाई छ । घरेलु मदिरा सँगसँगै ब्रान्डेड मदिराहरूलाई पनि नियन्त्रण गर्न सकिएमा समाजमा हुने सबै प्रकारका घटना न्यूनीकरण गर्न सकिने उनको भनाई छ । स्थानीय मदिरा भन्दा झन्डै दुई गुणा ब्रान्डेड मदिराले समाजमा आपराधिक घटना बढाउन मद्दत गरेकाले राज्यले समयमै सोच्नु पर्ने समय आएको उनको भनाई छ । यदि सल्यानका स्थानीय पालिकाहरूले ब्रान्डेड मदिरामा नियन्त्रणमा साथ दिए ब्रान्डेड मदिरा नियन्त्रण तथा रोकथाममा आफू लागि पर्ने बताए ।
समाजमा हुने सामाजिक अपराधका घटना नियन्त्रण तथा न्यूनीकरण गर्न स्थानीय पालिकासँगै सबै पक्ष उत्तिकै जिम्मेवार र सामाजिक चेतनाका कार्यक्रम सञ्चालन गर्नु पर्ने सल्यान जिल्ला इन्सेक प्रतिनिधि मिना बुढाथोकीले बताइन । मदिरा सेवनकै कारण धेरै मानिस घरबार विहीन हुनु पर्ने अवस्था आएको र त्यसबाट सबैभन्दा बढी महिला र बालबालिका पीडित भएको बुढाथोकीको भनाई छ ।





.jpg)