ट्रेण्डिङ

होमपेज / समाज

पोषण संवेदनशील कृषि कार्यक्रम सम्बन्धी २ दिने तालिम सम्पन्न

  सल्यान खबर डेस्क २०७८ आश्विन ८ गते शुक्रबार १३:२१:५३ मा प्रकाशित

८ असोज, सल्यान ।

स्थानीय तहमा कार्यरत कृषि तथा पशुपक्षिं सेवा शाखाका प्रमुख तथा प्राबिधिकहरुलाई पोषण संवेदनशील कृषि कार्यक्रम सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ । सु आहारा दोस्रो कार्यक्रमको आयोजनामा असोज ६ र ७ गते श्रीनगरमा भएको कार्यक्रममा सल्यान जिल्लाका सबै स्थानीय तहका कृषि तथा पशुपक्षिं विकास सेवा शाखा प्रमुख तथा प्राविधिकहरूको उपस्थिति रहेको थियो ।

नेपाल सरकारले अवलम्बन गरेको बहुक्षेत्रिय पोषण योजना दोस्रो तथा २० बर्से कृषि विकास रणनीति, खाद्य तथा पोषण सुरक्षा योजना लगायतका नीतिगत दस्ताबेजमा उल्लेखित पोषण र खाद्य सुरक्षाको लक्ष्य प्राप्तिका लागि कृषि तथा पशुपक्षिं क्षेत्रको भूमिका र दायित्व बारे छलफल र समीक्षा गर्न २ दिने कार्यक्रमको आयोजना गरिएको        सु आहारा कार्यक्रमका घरायसी खाद्यान्न उत्पादन तथा बजारीकरण अधिकृत सेतलाल डाँगीले बताए ।

डाँगीका अनुसार २ दिने कार्यक्रममा नेपालको खाद्य सुरक्षा अवस्था, कुपोषणको चक्र तथा सुनौलो १००० दिन, कुपोषण र खाद्य असुरक्षाको समस्या समाधानका लागि सङ्घ, प्रदेश सरकारले अपनाएका रणनीतिहरू, महिला तथा बालबालिकाको विविध पोषण युक्त खाद्यान्नमा पहुँच, पोषण संवेदनशील कृषि कार्यक्रम, सु आहारा परियोजना र घरायसी खाद्यान्न उत्पादन, घरायसी खाद्यान्न उत्पादन किन पोषण संवेदनशील कार्यक्रम हो ,  पोषण संवेदनशील कृषि सेवा प्रसार र दिगोपनाको लागि ग्रामीण नमुना कृषक अवधारणा साथै पोषण संवेदनशील कार्यक्रम तर्जुमा लगायतका विषयहरूमा छलफल गरिएको थियो । 

कार्यक्रममा पशु अस्पताल तथा पशु सेवा केन्द्र, सल्यानका निमित्त कार्यालय प्रमुख कपिल प्रसाद उपाध्याय, कृषि विकास कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख महेश आचार्य, सु आहारा कार्यक्रम कर्णाली प्रदेश संयोजक सुरज कुमार शर्मा, वरिष्ठ प्राविधिक संयोजक नीरज केसी, सु आहारा कार्यक्रम दाङका घरायसी खाद्यान्न उत्पादन तथा बजारीकरण अधिकृत सेललाल डाँगी, दलित विकास समाज सल्यान सु आहारा कार्यक्रमका फिल्ड संयोजक तोरण बहादुर बुढाथोकी लगायतले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रमका अवसरमा जिल्लामा सञ्चालित कृषि क्षेत्र विकास सहयोग कार्यक्रमको बारेमा कार्यक्रमका जेशि तथा पोषण अधिकृत सन्तोष दुबेले सहभागीहरूलाई कृषि क्षेत्र विकास सहयोग कार्यक्रमले गर्ने क्रियाकलाप, कार्यक्रम सञ्चालन ढाँचा, लक्षित वर्ग साथै कार्यक्रमको कार्यक्षेत्रको बारेमा जानकारी गराएका थिए ।

तालिमको पहिलो दिन दलित विकास समाज सल्यानका अध्यक्ष निम बहादुर नेपालीको अध्यक्षताबाट सुरु भएको कार्यक्रममा दोस्रो दिन समापनको अवसरमा सहभागीहरूको तर्फबाट वसन्त रावत (पशु विकास प्राविधिक त्रिवेणी गाउँपालिका) र बुद्धि बहादुर वली (कृषि अधिकृत कालीमाटी गाउँपालिका) ले तालिममा सिकेका कुराहरू सहभागीहरू सबैले आ–आफ्नो पालिकामा कार्यान्वयनको लागी पहल गर्ने प्रतिबद्धता जनाए, २ दिने तालिमका अवसरमा सबै सहभागीहरूले आ–आफ्नो पालिकामा गर्ने पोषण संवेदनशील क्रियाकलाप सहितको कार्य योजना पनि तयार गरेका छन् । उक्त कार्यक्रमको सञ्चालन दलित विकास समाज सल्यान सु आहारा कार्यक्रमका फिल्ड संयोजक तोरण बहादुर बुढाथोकीले गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top