ट्रेण्डिङ

होमपेज / समाज

ध्रुव प्रसाद श्रेष्ठ अक्षयकोषबाट नौ छात्रछात्रालाई छात्रवृति वितरण

  सल्यान खबर डेस्क २०७८ आश्विन ३ गते आइतबार १५:१७:३६ मा प्रकाशित

असोज ३,सल्यान 

सल्यानको त्रिवेणी गाउँपालिकामा जेहेन्दार तथा विपन्न छात्रवृत्ति अक्षयकोषबाट गाउँपालिका भित्रका नौ छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको हो । 

आइतबार एक कार्यक्रमका बिच सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार र विपन्न छात्रछात्रालाई ध्रुव प्रसाद श्रेष्ठ अक्षयकोषबाट छात्रवृत्ति प्रदान गरिएको हो ।  त्रिवेणी गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले नौ छात्रछात्रालाई छात्रवृति वितरण गरेका हुन । 

सामुदायिक विद्यालयमा कक्षा पाँचमा उत्कृष्ट अङ्क ल्याउने एक / एक जना छात्रछात्रा, र विपन्न एक जना गरी तीन जना र गाउँपालिका भित्रका ६ वटा वडामा रहेका विद्यालयबाट एक ÷एक जना गरी ९ जनालाई छात्रवृत्ति वितरण गरिएको प्रभात कुमार श्रेष्ठले जानकारी दिए । अक्षयकोष कार्यविधिमा कक्षा पाँचमा उत्कृष्ट अङ्क ल्याउनेलाई मात्र छात्रवृत्ति प्रदान गरिने उल्लेख गरिएको भए पनि यो वर्ष गाउँपालिका भित्रका ६ वटै वडामा रहेका सामुदायिक विद्यालयमा उत्कृष्ट अङ्क ल्याउने जेहेन्दार र विपन्न छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिएको श्रेष्ठले बताए । 

सामुदायिक विद्यालयमा उत्कृष्ट अङ्क३ दशमलव ८ जिपिए ल्याउने छात्र तर्फ सरिकोट माध्यमिक विद्यालयका निशान पुन, छात्रा तर्फ ३ दशमलव ८ जिपिए नै ल्याउने सरस्वती माध्यमिक विद्यालयकी विना बोहरा र उत्कृष्ट दलितबाट ३ दशमलव ६ जिपिए ल्याउने कालिका प्राथमिक विद्यालय मेलचौरका रुपलाल विक रहेका छन् । 

यस्तै पालिकाका भित्रका वडामा रहेका सामुदायिक विद्यालय अन्तरगत वडा न १ बाट सरस्वती प्राथमिक विद्यालय कोलचौरका आशिष् रांगु, वडा न २ बाट पञ्चकन्या प्राथमिक विद्यालयका खुस्बु पुन , वडा न ३ बाट सरिकोट माध्यमिक विद्यालयका सञ्चिता रेउले रहेका छन् । 

यस्तै वडा न ४ मा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका दिपा रावत, वडा न ५मा रहेको सरस्वती माध्यमिक विद्यालय सिम्कका घनश्याम बुढामगर र वडा न ६ बाट पशुपति निम्न माध्यमिक विद्यालयकी कृतिका खड्का रहेको श्रेष्ठले बताए । 

जेहेन्दार गरिब तथा विपन्न वर्गका बालबालिकालाई छात्रवृत्ति मार्फत सानो भएपनि सहयोग पुगोस् र उनीहरूलाई अध्ययनमा थप हौसला मिलोस् भन्ने हाम्रो उद्देश्य हो,’ श्रीमती रेमु श्रेष्ठले भनिन् ‘ त्यसले असल र स्वावलम्बी नागरिक उत्पादनमा टेवा पुगोस् भन्ने चाहाना हो ।

त्रिवेणी ६ लुहाम बजार निवासी स्वर्गीय ध्रुव प्रसाद श्रेष्ठको वार्षिकीको अवसरमा परिवारका सदस्यले उनको स्मृति स्वरूप तीन लाख रुपैंयाको गाउँपालिका स्तरीय अक्षयकोष स्थापना गरिएको  थियो ।  समाजसेवी स्वर्गीय ध्रुव श्रेष्ठकी श्रीमती रेमु श्रेष्ठ, छोरा बुहारीहरू डाइमण्ड श्रेष्ठ, झुला श्रेष्ठ, प्रभात कुमार श्रेष्ठ, कल्पना श्रेष्ठ, प्रियवत्र श्रेष्ठ, मनिसा श्रेष्ठ, छोरी ज्वाइँ उपासना पुन, कीर्तिबहादुर पुनले कोष स्थापना गरेका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top