होमपेज / समाज
भदौ ३१सल्यान
सल्यानमा व्यावसायिक घाँस खेती फस्टाउँदै गएको छ । खेर गएको पाखो र अन्य बालीभन्दा छोटो समयमा प्रतिफल लिन सकिने भएपछि सामूहिक रुपमा नै किसान घाँस खेती गर्न थालेका छन् ।
पछिल्लो समय पशुपालन र दुग्ध व्यवसाय बढ्दै जाँदा पोसिलो घाँसको माग बढ्दै गएको शारदा नगरपालिका –१४ बरलाका शारदा घाँस विकास समितिका अध्यक्ष घनश्याम भण्डारीले बताए । घाँसको बिउ उत्पादनबाट छोटो समयमा राम्रो आम्दानी हुने भएपछि पछिल्लो समय किसान सामूहिक रुपमा घाँस खेती गर्दै आइरहेको उनको भनाई छ ।
गत वर्ष मात्र आफ्नो समूहबाट ७ लाख भन्दा बढीको घाँसको बिउ उत्पादन भएको उनको भनाई छ । बुहवर्षिय घाँस अन्तरगत डाले घाँस भन्दा पोसिलो बिउको माग बढी हुने गरेको उनको भनाई छ । उत्पादन भएको घाँस केही दाङ गए पनि अन्य सम्पूर्ण घाँस राष्ट्रिय बिउ विजन केन्द्र काठमाण्डौले लिने गरेको उनको भनाई छ । उनले भने घाँस बिक्री हुँदिन की भन्ने चिन्ता भन्दा माग भए अनुसारको घाँसको बिउ पुर्याउन सकिन्छ की सकिँदैन भन्ने चिन्ता हुने गर्छ । बरलाका २५ जना किसानले सामूहिक रुपमा घाँस खेती गर्दै आइरहेको उनको भनाई छ ।
आफ्नो समूहबाट बढी मात्रामा जै, सुपरनेपियर, मुलाटो,पासपालुम, सियो ३, सियो ४ जना घाँसका बिउ जानेको गरेको समूहका सचिव गेहेन्द्र प्रसाद जैसीले बताए । १ सय २० रोपनीमा घाँसको बिउ उत्पादन हुँदै आइरहेको उनको भनाई छ । वर्षाको समयमा घाँसको माग अलि कम भएपनि हिउँदको समयमा भने अत्यधिक हुने उनको भनाई छ ।
यस्तै घाँस खेतीबाट कालिमाटी गाउँपालिका – दुमदुवालीका शुरेस गाहा मगरले वार्षिक ६ लाख आम्दानी गर्दै आइरहेका छन् । शिक्षण पेसासँगै उनले घाँस खेतीबाट मनग्य आम्दानी गर्दै आइरहेका हुन । १३ रोपनी भन्दा बढी रोपनीमा व्यावसायिक घाँस खेती गर्दै आइरहेका गाहा मगरले आफूले उत्पादन गरेको घाँस, सुर्खेत, बाँके , बर्दिया जाने गरेको बताए ।
सल्यानमा व्यावसायिक पशुपालन गर्ने किसानको सङ्ख्या बढ्दै जाँदा पोसिलो घाँसको पनि माग बढ्दै गएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ । जिल्लामा कति किसानले व्यावसायिक घाँस खेती गर्छन् भन्ने तथ्याङ्क नरहेको र चालु आर्थिक वर्षदेखि सूचिकृत गर्न थालिएको कार्यालय प्रमुख कपिलप्रसाद उपाध्यायले बताए । व्यावसायिक घाँसको नर्सरी गर्ने किसानलाई अनुदानको कार्यक्रम पनि अघि बढाएको उनको भनाई छ ।





.jpg)