ट्रेण्डिङ

होमपेज / समाज

स्वास्थ्यकर्मीको अभावले थलिँदै सल्यान जिल्ला अस्पताल

  सल्यान खबर डेस्क २०७८ भाद्र २५ गते शुक्रबार १७:१८:३१ मा प्रकाशित

भदौ २५,सल्यान 

दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा सल्यान जिल्ला अस्पतालको स्वास्थ्य सेवा प्रभावित हुँदै आइरहेको छ । स्वास्थ्य मौलिक अधिकार भए पनि स्वास्थ्यकर्मी नै नभएपछि अस्पतालबाट सेवा प्रवाह गर्न समस्या भइरहेको हो । 

नर्सको ९ दरबन्दी रहेकोमा २ जना मात्र रहेका छन् । जसमा एक जना अध्ययन बिदामा रहेका छन् भने सिनियर अनमीको ३ दरबन्दी रहे पनि १ मात्र पूर्ति भएको सल्यान जिल्ला अस्पताले जनाएको छ । करारमा अन्य ७ जना राखेको भएपनि १५ शय्याको अस्पताल र कोभिड अस्पतालमा सेवा प्रवाह गर्न निकै समस्या हुँदै आइ रहेको सल्यान जिल्ला अस्पताल सल्यानका डा. प्रदीप शर्माले बताए । डाक्टरको व्यवस्था भएपनि नर्स निकै कम हुँदा बिरामीलाई सेवा दिन समस्या हुने गरेको उनको भनाई छ । 

दैनिक १२ देखि १५ जनासम्म सुत्केरी हुने र जनरल वार्डमा ५ देखि १० जनासम्म बिरामी आउने गरेको नर्स तारा शाहीले बताइन । नौ जना स्टाफले १४ सं घण्टा काम गर्दा निकै समस्या हुने गरेको उनको भनाई छ । दिनमा भन्दा नाइट ड्युटीमा  दुई जनाले मात्र गर्दा साह्रै गाह्रो हुने गरेको उनको भनाई छ । उनले भनिन ‘१२ जना जति दैनिक डेलिभरी भइरहेका हुन्छन् । डेलिभरी वार्डमा जाँदा जनरल तिर छुट्छ , जनरल तिर जाँदा डेलिभरी वार्ड तिर छुटी रहेको हुन्छ ।’ 

पछिल्लो समयमा कोभिड अस्पताल थपिदा झनै समस्या भएको अस्मिता बुढाथोकीको भनाई छ । दरबन्दीका स्टाफ नहुँदा प्रसूति देखि अन्य सेवा प्रवाह समस्या हुने गरेको उनको भनाई छ । 

जिल्ला अस्पतालका दरबन्दीका स्टाफ नर्स नभएको धेरै वर्ष भइसकेको भएपनि अहिलेसम्म पदपूर्ति हुन नसकेको डा. शर्माले बताए । करारमा रहेका स्टाफको पनि करार म्याद थपिने नथपिने निश्चित नभएको उनको भनाई छ । जागिरको निश्चित नहुँदा करारमा बसेका नर्सहरू पनि तीन तीन महिनामा फेरिने गरेको शर्माले बताए । प्रदेश सरकारलाई स्वास्थ्य जस्तो संवेदनशील विषयमा ध्यान दिन आग्रह गरेको भएपनि सुनुवाइ नभएको उनले बताए । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top