होमपेज / समाज
सल्यान — मदन भण्डारी राजमार्गअन्तर्गतको तुलसीपुर– कालीमाटी–बोटेचौर सडकखण्डको कालोपत्रेको म्याद सकिए पनि कालोपत्रेको काम पूरा भएको छैन । कालिका जेभीले सडकको कालोपत्रेको काम २०७८ असार २० गतेसम्म पूरा गर्ने भन्दै २०७४ असारमा ठेक्का सम्झौता गरेको थियो ।
वर्षाले बिग्रेको मदन भण्डारी राजमार्गअन्तर्गतको तुलसीपुर–कालीमाटी–बोटेचौ र सडकखण्ड । तस्बिर : विप्लव/कान्तिपुर
कम्पनीले ३० किलोमिटर सडक कालोपत्रे गर्न ४४ करोड रुपैयाँमा जिम्मा लिएको छ । अहिलेसम्म कम्पनीले झन्डै ५ किलोमिटर सडक मात्र कालोपत्रे गरेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । कार्यालयका अनुसार करिब १० किलोमिटर ग्राभेलको काम सकेको कम्पनीले ६० प्रतिशत काम मात्र पूरा गरेको छ । ठेकेदारले काममा गरेको ढिलासुस्तीका कारण वर्षाको समयमा सडक हिलाम्मे हुँदो दाङको तुलसीपुरबाट कालीमाटी हुँदै सुर्खेत जाने यात्रुले सास्ती भोग्दै आएका छन् ।
सडक कालोपत्रे नहुँदा गाडीहरू दैनिकजसो हिलोमा फस्ने गरेका छन् । वर्षा भएपछि गाडी फस्दा यात्रुहरू हिँडेर आउजाउ गर्नुपर्ने बाध्यता छ । ‘ठेकेदारले लापरवाही गर्दा हामीले सास्ती भोगिरहेका छौं,’ स्थानीय सुरेशकुमार गाहामगरले भने, ‘बर्षेनि वर्षामा हिलो र हिउँदमा धुलाम्मे सडकमा यात्रा गर्न बाध्य छौं ।’ वर्षायाममा हिलोमा गाडी फस्दा यात्रुले नै धकेल्नुपर्ने बाध्यता भएको उनले बताए ।
ठेकेदार कम्पनीको लापरवाहीका कारण कालीमाटी गाउँपालिका–३ सिमलकुनादेखि सल्यान–सुर्खेतको सीमास्थित काल्चेडाँडासम्म सडकको अवस्था दयनीय रहेको स्थानीय पुरुषोत्तम भटराईले बताए । उनका अनुसार दाङ र सल्यानको सिमानामा पर्ने एक्लेबरदेखि कालीमाटी गाउँपालिकास्थित शारदा पुलसम्म मात्र ठेकेदार कम्पनीले कालोपत्रे गरेको छ । ‘सडक कालोपत्रे नहुँदा यात्रा जोखिमपूर्ण बनेको छ,’ उनले भने, ‘सडकको अवस्था सम्झदा गाडीमा चढ्नै डर लाग्छ ।’
पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने राजमार्गमा गाडी चलाउन निकै सास्ती हुने गरेको बस चालक जीवन केसीले बताए । साघुँरो सडकका कारण गाडी क्रस गर्न पनि ब्याक गरेर साइड दिनुपर्ने बाध्यता रहेको उनले गुनासो पोखे । ‘यो सडकमा गाडी नबिग्रेको दिने हुँदैन,’ उनले भने, ‘कालोपत्रे नहुँदा सडक झनझन जोखिम बढ्दै गएको छ ।
स्थानीयका अनुसार प्रदेश राजधानी सुर्खेत जोड्ने यो सबैभन्दा छोटो सडक हो । दाङदेखि नेपालगन्ज हुँदै सुर्खेत जानुपर्दा २ सय ५० किलोमिटर पर्ने र तुलसीपुर–कालीमाटी हुदै सुर्खेत जाँदा झन्डै १ सय ५० किमि मात्र पर्ने स्थानीय राजेश शर्माले बताए ।
कालिका जेभीका ठेकेदार ठाकुर कँडेलले कोरोनाका कारण सडक निर्माणमा ढिलाइ भएको दाबी गरे । ‘कोरोना महामारीका कारण लगातार दुई वर्षसम्म सडक निर्माणको काममा बाधा भएको छ,’ उनले भने, ‘लकडाउनका कारण समयमै पर्याप्त कच्चा पदार्थ जुटाउन सकिएन ।’ उनले वर्षा सकिएलगत्तै सडक निर्माणको कामलाई तीव्रता दिइने बताए ।
सडक डिभिजन कार्यालय दाङका इन्जिनियर अमिर सुवेदीले ठेकेदारले जनशक्ति र आवश्यक सामग्रीको व्यवस्था गर्न नसक्दा काममा ढिलाइ गरेको बताए । उनका अनुसार सडक निर्माणको म्याद सकिए पनि ठेकेदारले अहिलेसम्म मुस्किलले आधा काम मात्र गरेका छन् । ‘हामीले काम छिटो सक्न पत्र काटिरहेका छौ,’ उनले भने, ‘तर ठेकेदार कम्पनीले बेवास्ता गरेको छ ।’ उनले काममा ढिलाइ गर्ने कम्पनीलाई कारवाही प्रक्रिया अघि बढाइने बताए । सम्झौताअनुसार समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई १ करोड रुपैयाँ जरिवाना गराइएको कार्यालयले जनाएको छ ।
ekantipur





.jpg)