ट्रेण्डिङ

होमपेज / समाज

कपुरकोटमा समावेशी योजना निर्माणका लागि अन्तरक्रिया

  सल्यान खबर डेस्क २०७८ भाद्र ९ गते बुधबार १९:०९:३० मा प्रकाशित

सल्यान, ९ भदौ । 

योजना निर्माणको कामलाई समावेशीकिरण गर्नुपर्नेमा सल्यान कपुरकोटमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । बुधबार कपुरकोट गाउँपालिकामा पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, दलित पुरुष तथा दलित महिला जनप्रतिनिधी, विषयगत शाखा प्रमुख तथा वडा सचिवहरुको विचमा समावेशी योजना कार्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । 

उक्त कार्यक्रमका सहभागीहरुले पछाडी परेका वा पारिएका वर्ग, क्षेत्र र समुदायका नागरिकहरुको विकासका लागि कार्याक्रम कार्यान्वयन गरी समानुपातिक विकासमा जोड दिएका हुन् । कार्यक्रमका प्रमुख अथिती गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष तथा कपुरकोट गाउँपालिकाका समेत अध्यक्ष भिम बहादुर सेनले योजना तथा कार्यक्रम छनौटमा समुदायका सबै वर्गको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिए । उनले आफ्नो पालिकाको सेवा प्रवाह संयन्त्र तथा प्रक्रिया लैंगिक तथा सामाजिक समावेशी मैत्री हुने गरी काम गरिरहेको बताए ।

कार्यक्रमका अन्य वक्ताहरुले लैंगिक समानता तथा सामाजिक समावेशीकरणका विषयमा संवेदनशिल हुनुपर्नेमा जोड दिएका थिए । सहाभागीहरुले आगामी दिनमा गाउँपालिकाले आफ्नो नीति, कार्यक्रम तथा योजना निर्माण गर्दा पहिला गाउँपालिका अन्तर्गतका वडा र वस्तीका समस्या र आवश्यकता पहिचान गरी योजना निर्माण गर्ने तथा योजना निर्माण कार्यलाई अझै बढी समावेशी बनाउने प्रतिवद्धता जनाएका थिए । सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत दलित महिला केन्द्र नेपालको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । 

दलित विकास समाज सल्यानका अध्यक्ष निम बहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढामगर, निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुण दाहाल, ६ वटै वडाका वडाध्यक्षहरु, दलित पुरुष तथा दलित महिला जनप्रतिनिधी, विषयगत शाखा प्रमुख तथा वडा सचिवहरु लगाएतको सहभागिता थियो । कार्यक्रममा दलित महिला केन्द्रकी कार्यक्रम अधिकृत सरिता गहतराजज्युले स्वागत मन्तव्य राखेकी थिइन् । 

अन्तरक्रिया कार्यक्रममा सहजकर्ता संग्राम लामा र पाल्मो तामाङले लैंगिक समानता तथा सामाजिक समावेशीकरण तथा योजना निर्माणको कामलाई समावेशीकिरण गरी समाजका कमजोर वर्ग तथा अन्य सिमान्तकृत समुदायलाई समावेश गरी नीति, कार्यक्रम, योजना र बजेट निर्माण गर्नुपर्ने विषयमा अभिमुखिकरण गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top