होमपेज / समाज
सल्यान, २७ साउन ।
सल्यानमा आयोजित एक कार्यक्रमका सहभागीहरु्ले सामूहिक हितको लागि वनको विकास, संरक्षण र उपयोगमा जोड दिएका छन् ।
बुधबार कपुरकोट गाउँपालिकामा आयोजित स्थानीय सरकार र समन्वयात्मक कार्यहरुबाट स्थानीय वन अधिकारको सुनिश्चितता कार्यक्रम अन्तर्गत १ दिने कर्मचारी अभिमुखिकरणका सहभागीहरुले नेपालको संविधानमा उल्लेखित वन माथिको स्थानीय समुदायको अग्राधिकारलाई व्यवहारिक रूपमा प्रत्याभूत गराउनु पर्नेमा जोड दिएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका राष्ट्रिय महासंघ कर्णालीका अध्यक्ष भिम बहादुर सेनले वनमा आधारित उद्यमहरु सञ्चालन गरेर समुदायमा रहेका गरिब तथा विपन्न वर्गहरूको जीवनस्तर माथी उठाउने खालका कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए । कपुरकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका उनले उनले वन श्रोतबाट अधिकतम फाइदा लिनुपर्ने र त्यो फाइदालाई न्यायोचीत वितरण गरी स्थानीय समुदायको आर्थिक, सामाजिक, पर्यावरणीय र भौतिक लगायतका स्थानीय विकासको क्षेत्रमा योगदान पुर्याउनुपर्ने बताए । यसका लागि आफ्नो पालिकाले आवश्यक कानूनी व्यवस्था गरेर स्थानीय वन ऐन समेत पारित गरिसकेको बताए ।
स्थानीय सरकार र समन्वयात्मक कार्यहरुबाट स्थानीय वन अधिकारको सुनिश्चितता कार्यक्रमका फोकल पर्सन घनश्याम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन खड्का, जिल्ला युवा समिति सल्यानका अध्यक्ष जनक बिक, ग्रीन फाउन्डेसन नेपाल दाङका सचिव सुरेश रावत, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय सदस्य भिमा बुढाथोकी र ग्रीन फाउन्डेसन नेपालका प्रेम सुबेदीले बोल्दै आफ्नो क्षेत्रको वनको दीगो व्यवस्थापन, जैविक विविधताको संरक्षण, संम्बद्धन, प्रवद्र्धन, वन पैदावरको विकास र उपयोग गर्नका लागि सामुदायिक वन व्यवस्थापन समूह जिम्मेवारपूर्वक लाग्नुपर्नेमा जोड दिए ।





.jpg)