होमपेज / समाज
सल्यान — त्रिवेणी गाउँपालिकास्थित लुहामका ५६ वर्षीय खोपीराम भण्डारीले व्यावसायिक बाख्रापालन गर्न थालेको ८ वर्ष भयो । उनको फार्ममा अहिले उन्नत जातका ९२ खसीबोका, बाख्रा र पाठापाठी छन् ।
वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गरिरहेका उनको घर खर्च यसै व्यवसायले टरेको छ । उनका छिमेकी अर्जुन श्रेष्ठले पनि स्थानीय जातका कुखुरापालन गरी सातामा झन्डै २ हजार अण्डा उत्पादन गरिरहेका छन् ।
बजार र भाउ बढ्दै गएपछि त्रिवेणीका गाउँगाउँमा व्यावसायिक पशुपन्छीपालनको लहर चलेको छ । सडक पुगेपछि व्यापारीले गोठमै आएर खसीबोका खरिद गर्ने भण्डारीले बताए । ‘अहिले त बिहानदेखि अबेरसम्मै बाख्राको स्याहारसुसारमा समय बित्छ,’ उनले भने, ‘बजारमा माग बढ्दै गएपछि व्यवसायमा हौसला मिलेको छ ।’ श्रेष्ठले कुखुरापालनबाट वार्षिक झन्डै ५ लाख रुपैयाँ आम्दानी भइरहेको बताए । उनको फार्ममा दुई युवाले रोजगारी पाइरहेका छन् ।
नजिकै वनजंगल भएकाले र खाद्यबाली लगाउने जग्गामा घाँसखेती गरेकाले पशुपालनमा समस्या नभएको भण्डारीले बताए । ‘फोनकै आधारमा व्यापारीले घरमै आएर बाख्रा खरिद गरिरहेका छन्, अरू पशुपालनभन्दा बाख्रा पाल्न सजिलो छ,’ उनले भने, ‘आम्दानी पनि बढी भएकाले गाउँका युवालाई बाख्रापालनमा लाग्न सल्लाह दिँदै आएको छु ।’
८ वटा उन्नत जातका गाई पालिरहेका लुहामका अर्का किसान कृष्ण रेउलेले व्यवसायबाट आत्मनिर्भर बनेको बताए । उनको फार्मबाट अहिले दैनिक ३० लिटर दूध बिक्री हुन्छ । ‘न बजारको समस्या छ, न भाउको,’ उनले भने, ‘आफ्नै गाउँमा मनग्गे आम्दानी गर्न थालेपछि आत्मसन्तुष्टि मिलेको छ, मेरै प्रेरणाले गाउँमा अरू युवासमेत व्यावसायिक कृषि र पशुपालनमा लाग्न थालेका छन् ।’ स्थानीय बजारमा ६० रुपैयाँ प्रतिलिटर दूध बिक्री भएको छ । गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपन्छीपालनमा आकर्षित गर्न अनुदानको कार्यक्रम ल्याएको छ ।
ekantipur





.jpg)