ट्रेण्डिङ

होमपेज / समाज

घर पाएपछि सल्यानका अति विपन्न समुदायको मुहारमा छायो खुसी

  सल्यान खबर डेस्क २०७८ असार २८ गते सोमबार २०:५८:३२ मा प्रकाशित

सल्यान : जनता आवास कार्यक्रमबाट घर पाएपछि सल्यानका अति विपन्न समुदायको मुहारमा खुशी छाएको छ। दैनिक ज्याला मजदुरी गर्दा पनि परिवारको छाक टार्न मुस्किल भएका समुदायलाई जनता आवास कार्यक्रमले घर बनाइ दिएको हो।

दलित, विपन्न, सीमान्तकृत र लापोन्मुख समुदायका लागि सल्यानमा चालु आर्थिक वर्ष ५० घर निर्माण गरिएको छ। सकड निर्माणका क्रममा घर भत्किएपछि शारदा नगरपालिका–६ बरलाका रेशम परियारको परिवार एक वर्षदेखि पशु सेवा कार्यालयले निर्माण गरेको पशु संकलन केन्द्रमा बस्दै आइरहेको थियो। 

सार्वजनिक स्थलमा एक वर्ष काटेका दिन सम्झँदै उनले आफ्नै घर पाउँदा निकै खुसी लागेको बताए। ‘राजमार्ग चौडा बनाउने क्रममा घर भत्किएर घरबारविहीन भएको थियो। एक वर्षदेखि पशु संकलन केन्द्रमा बस्दै आइरहेका थियौं,’ उनले भने, ‘तर आज आफ्नो घर पाउँदा निकै खुसी लागेको छ ।’ पक्की घर बनेपछि गर्मी, वर्षात र हावाहुरी चलेका बेला पनि ढुक्कसँग बस्न र रात कटाउन कटाउन सहज हुने उनको भनाइ छ।

आर्थिक स्थिति कमजोर हुँदा घर बनाउन नसकेकी छत्रेश्वरी गाउँपालिका–६ लान्तीकी गोरी बादीले पनि घर पाउँदा निकै खुसी लागेको बताइन्। ‘आफ्नो कमाइले साँझ बिहानको चुलो बाल्नै मुस्किल थियो,’ उनले भनिन्, ‘सरकारले घर बनाइदिएपछि सन्तानको सुखका दिन आएको अनुभूति भएको छ।’

कार्यक्रमअन्तर्गत सल्यानमा चालु आर्थिक वर्षमा एक करोड ७५ लाख रुपैयाँ लागतमा ५० घर निर्माण गरिएको पूर्वाधार कार्यालय सल्यानका प्रमुख विनोद पुनले बताए। १० वटै स्थानीय तहमा ५÷५ वटा घर निर्माण गरिएको उनले जानकारी दिए। 

‘एउटा घर निमार्णका लागि सरकारले ३ लाख ३६ हजार रुपैयाँ उपलब्ध गराएको छ,’ उनले भने, ‘बाँकी व्यक्तिले जनश्रमदान गरी निर्माण गर्नुपर्ने हुन्छ।’ सबै घर एउटै डिजाइन र मापदण्डका रहेको उनको भनाइ छ। दुई कोठे घर भूकम्प प्रतिरोधी र शौचालयको सुविधासहितका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top