होमपेज / समाज
असार २०,सल्यान
पछिल्लो समय सल्यानका कुरिलो खेती तर्फ किसानको आकर्षण बढन थालेको छ ।
आयुर्वेदिक फाइदा र कम लगानीमा पनि राम्रो आम्दानी हुने भएपछि किसानहरुको कुरिलो खेती तर्फ आकर्षण बढेको हो । कुरिलो खेतीबाट थोरै समयमा मनग्य आम्दानी हुने भएपछि कालिमाटी गाउँपालिका २ टाट्केका किसानहरु सामुहिक कुरिलो खेतीमा जुटेका छन् ।
शारदा दलित महिला समूहले हरियाली महिला कबुलियती वनमा सामूहिक कुरिलो खेती गरेका हुन । कम खर्चमा बढी आम्दानी हुने र कुरिलो खेतीका लागि सल्यानको हावापानी पनि राम्रो भएकाले समूहिक रुपमा खेती गरेको कालिमाटी गाउँपालिका २ टाट्केका हुमी टमाटाले बताइन । जंगलमा खेर गएको जमिनको सदुपयोग पनि हुने आम्दानी पनि हुने भएपनि कबुलियती वनमा कुरिलो खेती गरिएको टमाटाको भनाई छ ।
पहिलो वर्ष तीन हजार कुरिलोको विरुवा रोपिएको उनले बताइन । उनले भनिन ‘थोरै क्षेत्रफलमा पनि राम्रो आम्दानी हुने र यसको जरादेखि लिएर डाँठसम्म बिक्री हुने भएपनि समूहले निर्णय गरेर सामुहिक खेती सुरु गरेका हौं ।’
कुरिलो प्रति किलो ३ सयदेखि ४ सय रुपैयाँसम्म अहिले बिक्री हुँदै आइरहेको छ । मानव स्वास्थ्य र आर्थिक उपर्जानका समेत राम्रो हुने भएकाले कुरिलो खेतीलाई प्राथमिकता दिएको अर्का किसान बेल बहादुर परियारले बताए । कुरिलो तरकारीको रुपमा प्रयोग हुने र यसको स्वाद अन्य तरकारीको भन्दा मिठो भएका कारण पनि बजारमा कुरिलोको माग अत्याधिक भएको बुझे पछि सामुहिक खेतीमा लागेको उनले बताए । कबुलियती वनको झन्डै ५ रोपनी क्षेत्रफलमा खेती सुरु गरेको उनको भनाई छ । वनमा १ हजार ५ सय टिमुर र ५ सय तेजपात समेत रोपिएको उनको भनाई छ ।





.jpg)