होमपेज / समाज
असार १४,सल्यान
सल्यानको कुमाख गाउँपालिका २ डाँडाकटेरीकी ६० वर्षीया टिकादेवी चन्दलाई आजभोललि खानेपानीको चिन्ता छैन । न पालो कुर्नुपर्ने हतारो, न पानी सुक्ला भन्ने डर बरु कोही केटाकेटीले धरा खुल्लै छाड्छन् की भनेर बेलाबेला हेर्ने गर्छिन् ।
५५ परिवार रहेको डाँडाकटेरी गाउँमा अहिले चन्दको घरमा मात्र होइन, सबैको घर घरमा निजी धारा छन् । कुनै बेला पानी बोकेर सास्ती बोग्दै आइरहेका डाँडाकटेरीबासी अहिले घर घरमा धारा आएपनि निकै खुसी भएका छन् । घर घरमा धारा आएपछि विगतमा पानी बोक्दाको पिडा अहिले दूर भएको छ । उनले भनिन ‘६० वर्षको उमेर पछि घरमै धारा देख्न पाइयो । पानी बोक्दा बोक्दा ढाडको छाला बाक्लो भइसकेको थियो । अहिले निकै खुसी लागेको छ ।’
घर घरमा धारा निमार्ण भएपछि सबैभन्दा सहज गृहिणीहरुलाई भएको स्थानीय ४५ वर्षीय तेज बहादुर खत्रीले बताए । प्रत्येक घरमा खानेपानीको धारा निमार्ण गरेपछि अब सबैले सुरक्षित खानेपानी उपभोग गर्न पाएको उनको भनाई छ । उनले भने ‘यो ठाउँमा खानेपानीको निकै समस्या थियो बर्खा नजिकै मुहान फुट्ने भएपनि हिउँदको समयमा निकै समस्या हुन्थ्यो तर घर घरमा पानी आएपछि निकै सजिलो भएको छ ।’
बस्ती भन्दा ३ सय ५० मिटर तल रहेको पानी लिफ्ट प्रविधिबाट बस्तीमा पानी वितरण गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष शेर बहादुर चन्दले बताए । ५५ घरधुरीका लागि प्रत्येक घर घरमा धारा वितरण गरिएको उनको भनाई छ । दिनमा एक घरपरिवारलाई चार सय लिटर पुग्ने गरी पानी वितरण गर्ने व्यवस्था गरिएको चन्दले बताए । उनले भने ‘पानी ल्याउन जान मात्र आधा घण्टा भन्दा लाग्थ्यो तर अब घर घरमा धारा पाएपछि निकै सहज भएको छ ।’
पूर्वाधार विकास कार्यालय सल्यानको ५० लाखको लागतमा लिफ्ट प्रविधिबाट घर घरमा खानेपानीका धारा वितरण गरिएको कार्यालयका प्रमुख इ. विनोद पुनले बताए । घर घरमा पानीका धारा भएपछि सरसफाइको क्षेत्रमा पनि सुधार आउने आशा गरिएको पुनको भनाई छ । यो वर्ष कार्यालय मार्फत चार वटा खानेपानीका योजना सम्पन्न भएको उनले बताए ।





.jpg)