ट्रेण्डिङ

होमपेज / समाज

संरक्षक नभएका बालबालिकालाई आर्थिक सहायता, कोभिडबाट मृत्यु भएका परिवारलाई राहत

  सल्यान खबर डेस्क २०७८ असार ११ गते शुक्रबार १३:१८:३६ मा प्रकाशित

असार ११,सल्यान 

सल्यानको कपुरकोट गाउँपालिकाले आमाबाबु दुबै गुमाएका बालबालिकालाई १५ वर्षको उमेरसम्म मासिक पाँच सय रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ । 

आर्थिक वर्ष २०७८।०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष भीम बहादुर सेनले कुनै पनि संरक्षक नरहेका बालबालिकाहरूको स्याहारका लागि टेवा पु¥याउने उद्देश्यले आर्थिक सहायता उपलब्ध गराउने कार्यक्रम अघि सारिएको बताए । 

सम्बन्धित वडाको सिफारिस अनुसार गाउँपालिकाले निर्णय गरेर सहायता उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

कपुरकोट गाउँपालिकाको नवौँ गाउँसभाले कोभिड १९ नियन्त्रण तथा कोभिडबाट सृजित सङ्कट व्यवस्थापनमा जोड दिँदै कोरोना सङ्क्रमणका कारण मृत्यु भएका ब्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने कार्यक्रम पनि पारित गरेको छ । कोरोना सङ्क्रमणबाट मृत्यु भएमा राहत स्वरूप २५ हजार रुपैयाँ मृतकको परिवारलाई राहत स्वरूप उपलब्ध गराइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले जानकारी दिए । 

यस्तै डिप्लोमा ३ वर्षे कार्यक्रम प्राविधिक शिक्षालयको नयाँ सम्बन्धन लिन चाहाना गर्ने सामुदायिक विद्यालयहरूलाई गांँउपालिकाले आवश्यक भौतिक सुधारको लागि एकमुष्ट रु ३ लाख अनुदान दिने व्यवस्था गरिने भएको छ ।  

यस्तै एक घर एक धारा, करेसाबारी निर्माण र कम्तीमा १० वटा फलफूल विरुवा रोपन कार्यक्रमको लागि प्रोत्साहन कार्यक्रम पनि कपुरकोट गाउँपालिकाले अघि सारेको छ । 

आर्थिक तथा सामाजिक विकास, भौतिक पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन, सुशासन तथा संस्थागत विकास लगायतका क्षेत्रलाई कपुरकोटको नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ । 

यस्तै स्थानिय सञ्चारकर्मी, सञ्चार गृह, पत्रकारिताको संस्थागत विकास एवं क्षमता विकासको लागि आपसी समन्वय र  सहकार्य गर्ने एवं गाउँपालिकामा स्थापना भएका एफ.एम रेडियाको सेवा विस्तारमा आवश्यक सहयोग गर्ने,  कृषकको लागि उपयुक्त तरकारी खेती, पशुपालन, नर्सरी स्थापना जस्ता कृषक लाभान्वित हुने कार्यक्रम उत्पादन तथा प्रसारणका लागि आवश्यक बजेटको व्यवस्था गरिने गाउँपालिकाले जनाएको छ । 

गाउँपालिका अध्यक्ष सेनले आगामी आर्थिक वर्षको लागि ४७ करोड ५५ लाख ५८ हजार रुपैयाँ बराबरको बजेट अनुमानको सारांश पनि गाउँ सभामा प्रस्तुत गरेको थिए । नवौँ गाउँसभाको दोस्रो बैठक मङ्गलवार बस्दै छ । उक्त बैठकमा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले विस्तृत बजेट विवरण तथा कार्यक्रमहरु सार्वजनिक गर्नेछिन् । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top