होमपेज / समाज
असार ८,सल्यान
सल्यानका दश वटै स्थानीय तहले नीति तथा कार्यक्रम निमार्णमा तिब्रता दिएका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम असार १० गतेभित्र पेश गर्नु पर्ने भएकाले नीति तथा कार्यक्रम निमार्णमा स्थानीय तह जुटेका हुन ।
जिल्लाका सबै स्थानीय तहले यो वर्ष स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकता दिएका छन् । विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम र कोरोनाका कारण रोजगारी गुमाएकाहरुका लागि रोजगारमुलक कार्यक्रम लाई प्राथमिकता दिएको स्थानीय तहहरुले बताएका छन् ।
कालिमाटी गाउँपालिकाले सोमबार गाउँसभामा नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । १० औं गाउँसभामा स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याइएको प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर खत्रीले जानकारी दिए । उनका अनुसार अनुमानित ३० करोडको बजेट आउने उनको भनाई छ । कोरोना संकटका कारण आम जनताको जीवनमा परेको प्रभावलाई मध्यनजर गरेर बजेट ल्याउने गरी नीति तथा कार्यक्रम प्रस्तुत भएको खत्रीले बताए ।
शारदा नगरपालिकाले स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिएर योजना निमार्ण भइरहेको जनाएको छ । आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि अनुमानित ५० करोडको बजेट आउने मेयर सुरेश अधिकारीले बताए । आगामी वर्षका लागि स्वास्थ्य र रोजगारीलाई जोड दिनेगरी कार्यक्रम ल्याउने तयारी भइरहेको बताए ।
यस्तै बनगाड कुपिण्डे नगरपालिकाले ४९ करोड, बागचौर नगरपालिकाले ५६ करोड, दार्मा गाउँपालिकाले ३८ करोड, छत्रेश्वरी गाउँपालिकाले ३२ करोड, सिद्ध कुमाख गाउँपालिकाले २७ करोड, कपुरकोट गाउँपालिकाले ३५ करोड, त्रिवेणी गाउँपालिकाले ४२ करोड, कुमाख गाउँपालिकाले ३४ करोड, र कालिमाटी गाउँपालिकाले अनुमानित ३० करोडको बजेट ल्याउने तयारी गरेका छन् ।
जीवन रहे मात्र समृद्धिको अर्थ रहने भएकाले आगामी वर्षलाई स्वास्थ्यमा बढी केन्द्रीत भएको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताए । उनले गत आर्थिक वर्ष जस्तै यो वर्ष पनि स्वास्थ्य, रोजगारी, कृषिलाई जोड दिएको बताए ।





.jpg)