होमपेज / समाज
जेठ ३१,सल्यान
सल्यानको त्रिवेणी गाउँपालिकाले गर्भवती र सुत्केरी छ सय आमालाई कुखुरा वितरण गरेको छ ।
बहुक्षेत्रिय पोषण कार्यक्रम अन्र्तगत सुनौलो हजार दिन भित्रका ६ सय आमालाई कुखुरा वितरण गरिएको हो । पोषणमा सुधार ल्याउने उद्देश्यका साथ सुनौलो हजार दिनका आमाहरुका लागि पाँच /पाँच वटाका दरले कुखुरा वितरण गरिएको त्रिवेणी गाउँपालिका पशु सेवा शाखा प्रमुख बसन्त रावतले जानकारी दिए ।
गर्भवती र सुत्केरी आमाहरु तथा बालबालिकाहरुलाई अण्डा खुवाउनु पोषणको महत्वपूर्ण तत्व भएकाले पोषणयुक्त खानेकुरामा ध्यान दिन सकुन भनेर कुखुरा वितरण गरिएको उनको भनाई छ । पालिका भित्रका ६ सय सुनौलो हजार दिनका आमाहरुलाई ३ हजार वटा ८ हप्ते न्यु हेम्पसायर र ब्ल्याक अस्टलोप जातका कुखुराको चल्ला वितरण गरिएको रावतको भनाई छ ।
बच्चा आमाको गर्भमा रहेको दिनदेखि १ हजार दिन अर्थात जन्मिएको २ वर्षसम्म बच्चाको ८० प्रतिशत मस्तिष्कको विकास भइसक्ने भएकाले उनीहरुकको वृद्धि विकासका लागि कुखुरा वितरण गरिएको उपाध्यक्ष करुणा खड्काले बताइन । खास गरेर आमा र बच्चा दुवैमा कुनै किसिमको कुपोषण देखा नपरोस् भन्ने गाउँपालिकाको लक्ष्य रहेको उनको भनाई छ ।
चालु आर्थिक वर्षको वार्षिक स्विकृत कार्यक्रम अनुसार पालिकाका १ देखि ६ सम्मका लक्षित समूहका आमाहरुलाई कुपोषण हुन नदिन तथा पोषणमा सुधार ल्याउन सबै वडाहरुमा कुखुरा वितरण गरिएको खड्काको भनाई छ ।