होमपेज / समाज
कोरोना भाइरसको संक्रमणका कारण देशैभर विकास निमार्णका कामहरु रोकिएका छन्। निषेधाज्ञाका कारण देश नै ठप्प छ।
मानिसको भीडभाड हुने स्थान यतिबेला सुनसान छन्। यतिबेला सल्यानमा भने सामाजिक दुरी कायम राख्दै स्थानीय विकास निमार्णमा जुटेका छन्। स्वास्थ्य मापदण्ड र भौतिक दुरी कायम राखी विकास निमार्णलाई निरन्तरता दिइएको दार्मा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले बताए।
कोरोना महामारी छ भन्दै बसियो भने विकास निर्माणका काम प्रभावित हुने भएकाले स्वास्थ्य मापदण्ड कायम गरी विकास निमार्ण कार्यलाई निरन्तरता दिइएको उनले जानकारी दिए।
‘चालु आर्थिक वर्षको अन्तिममा छौं असारमा अहिलेको भन्दा व्यापक रुपमा कोरोना फैलिन पनि सक्छ। आखिर काम गर्नु नै छ भने कामको लोड अहिलेदेखि नै कम गर्दा सजिलो हुन्छ’ उनले भने।
कोरोना महामारीका कारण रोजगारी गुमाएका युवाहरुलाई लक्षित गरी विकास निमार्ण अघि बढाएको शारदा नगरपालिका–१२ का वडाध्यक्ष दीपक हमालले बताए।
दैनिक ज्याला मजदुरी गरी परिवार पाल्ने कतिपयको चुलोमा आगो बल्न नसकिरहेको बेला मुख्यमन्त्री रोजगार, प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतबाट योजनाहरु सञ्चालन भइरहेको हमालले बताए।
उनले भने,‘नागरिकलाई कोरोना र भोक दुवैबाट बचाउन जरुरी छ।’ यस्तै प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन भइरहेको सिद्धकुमाख गाउँपालिकाका सूचना अधिकारी भीमलाल भण्डारीले बताए। अन्य योजनाहरु बन्द भएपनि प्रत्यक्ष जनता सहभागि हुने कार्यक्रमहरु भने सञ्चालन भइरहेको उनको भनाई छ।





.jpg)