ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा ‘अक्सिजन सिलिन्डरका लागि मेरो एक हजार’ अभियान

  सल्यान खबर डेस्क २०७८ बैशाख २३ गते बिहीबार १५:११:०३ मा प्रकाशित

वैशाख २३,सल्यान 
दिनप्रतिदिन फैलदो क्रममा रहेको कोरोना भाइरसका कारण अहिले अक्सिजनको अभाव बढ्दै गएको छ । अक्सिजनको अभावकै कारण धेरैले अकालमै ज्यान नै गुमाई रहेका छन् भने अक्सिजनको अभाव हुँदा उपचारमा समेत समस्या हुँदै आइरहेको छ । 

अस्पतालमा अक्सिजनको अभाव बढ्दै जाँदा सल्यानमा भने अक्सिजन सिलिन्डरका लागि मेरो एक हजार अभियान सञ्चालन गरिएको छ । अक्सिजनकै अभावबाट अकालमै कोहीको ज्यान जान नदिन कोभिड १९ सेल्फ हेल्प समूह गठन गरी अक्सिजन सिलिन्डरका लागि मेरा एक हजार अभियान सुरु गरिएको छ । 

संकटमा सरकारको मात्र मुख ताक्ने भन्दा पनि नागरिकहरुले पनि आफ्नो दायित्व निवार्ह गर्नुपर्छ भन्ने भावनाका साथ अभियान सञ्चालन गरिएको अभियान्ता तथा पत्रकार आशिष केसीले जानकारी दिए । बुधबार साँझबाट सुरु गरिएको अभियानमा अहिलेसम्म झन्डै ८० हजार रुपैयाँ संकलन भइसकेको उनको भनाई छ । सञ्चालन गरिएको अभियानको राम्रो प्रतिक्रिया आइरहेको र सहयोग पनि गर्ने आश्वासन आइरहेको केसीले बताए । 

मानविय र सामाजिक उत्तरदायित्व पुरा गर्न अभियान सुरु गरेको गोविन्द शर्माले बताए । एकजनाले एक हजार मात्र सहयोग गरे कसैको ज्यान जोगिन्छ भने एक हजार किन सहयोग नगर्ने ? 
समूहले विरामीहरुका लागि २४ सैं घण्टा एम्बुलेन्सको समेत व्यवस्था गरेको उनको भनाई छ । संकलन भएको रकमबाट जिल्ला अस्पताल सल्यानमा अक्सिजन सहितको सिलिन्डर उपलब्ध गराउने शर्माले बताए । 

सल्यान अस्पतालमा अक्सिजन सहितको सिलिन्डर नहुँदा उपचारमा समस्या हुँदै आइरहेको छ । 
स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार सल्यानमा हाल ३ सय ३४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । संक्रमित मध्ये १४ जना जिल्ला अस्पताल सल्यान, ५ जना संस्थागत आइसोलेशन र ३ सय १५ जना होम आइसोलेशनमा रहेका छन् । कोरोनाबाट सल्यानमा ८ जनाले ज्यान गुमाई सकेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top