होमपेज / समाज
फागुन २१,सल्यान
सल्यानका भुमिहिन तथा सुकुम्बासीहरुले बास बस्ने एक टुक्रा जमिन उपलब्ध गराउन सरकारलाई आग्रह गरेका छन् । भूमिहिन जीवन कटाई रहेका बादी समुदायले आफ्नो नाउँमा एक टुक्रा जमिन पाएको देख्न एउटा मात्र धोको रहेको बताए छन् ।
शुक्रबार सल्यान खलंगामा इन्सेक सल्यानले आयोजना गरेको आवासको अधिकार सम्बन्धि सरोकारवा बिच अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले आफ्नो नाममा एक घर र आफ्नै जमिनमा हलो जोतेर जिविकोपार्जन गर्ने चाहाना रहेका बताएका छन् । पुस्तौंदेखि एलानी जग्गामा बस्दै आएको तर आफ्नो नामा एक टुक्रा पनि जमिन नभएको शारदा नगरपालिका ३ संगीतटोलकी अनिता गन्दर्भले बताइन । उनले भनिन ‘आफूजस्तो सुकुम्बासी आउँदो पुस्ता नबनोस , छोराछोरीको साथम जग्गाधनीको प्रमाण पत्र होस ।’
आफ्नो नाममा जग्गा नहुँँदा केही पेशा व्यवसाय गर्न पनि निकै समस्या हुने गरेको शान्तिनगरकी निर्मला वादीले बताइन । उनले भनिन ‘एलानी जग्गामा एउटा घर छ तर त्यसबाहेक एक बोट खुर्सानी रोप्ने ठाउँसँम्म छैन । कि सरकारले हामीलाई अन्य कुनै रोजगारीको व्यवस्था गर्नुप¥यो कि अलिकति भएपनि जग्गा दिनु प¥यो ।’
भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित रुपमा बस्दै आइरहेका नागरिकलाई सरकारले जमिनको व्यवस्था गर्न थालेको भूमि सम्बन्धि समस्या समाधान आयोग सल्यानका अध्यक्ष लोक बहादुर डाँगीले बताए । नेपालमा २०११ सालदेखि भूमि समस्या समाधान गर्न पहल भइरहेपनि यस आयोगले भूमिहिन, सुकुम्बासी र अव्यवस्थित रुपमा बस्दै आइरहेका नागरिकलाई जग्गा उपलब्ध गराउने दावी गरे ।
जिल्लामा भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुको लगत संकलन कार्य भइरहेको बताए । सल्यानमा धेरै अव्यवस्थित बसोबास रहेको डाँगीको भनाई छ । सरकारले भूमिहिन तथा सुकुम्बासीलाई घरका लागि ३ सय ४० वर्गमिटर र खेतीपातीका लागि ३ हजार वर्गमिटर जमिन उपलब्ध गराउने बताए । यस्तै अव्यवस्थित बसोबास गर्नेहरुको हकमा ३ सय ४० वर्गमिटर आवास र १ हजार वर्गमिटर खेतीपातीका लागि उपलब्ध गराउने उनको भनाई छ ।