ट्रेण्डिङ

होमपेज / समाज

सल्यानका किशोरीलाई सेल्फ डिफेन्स तालिम

  सल्यान खबर डेस्क २०७७ पौष २२ गते बुधबार १६:०५:३१ मा प्रकाशित

सल्यान : छत्रेश्वरी गाउँपालिकाले ६०० किशोरीलाई सेल्फ डिफेन्स (आत्म सुरक्षा) तालिम दिएको छ।  गाउँपालिकाको आर्थिक सहयोग र युथ अफ तुलसीपुरको व्यवस्थापनमा बलात्कार, महिला हिंसाजस्ता घटनाहरु न्यूनीकरण गर्न र यसबाट बच्न सकिने उपायबारे किशोरीहरुलाई जनचेतनामुलक आत्म सुरक्षा तालिम प्रदान गरिएको छ।

सल्यानमै पहिलोपटक सञ्चालन गरिएको कार्यक्रममा किशोरीहरुको आत्म सुरक्षासम्बन्धी प्रारम्भिक सीप सिकाइएको छ। एक विद्यालयमा एक साता तालिम दिएको हो। आत्म सुरक्षा तालिमले आत्मबल बढाउन निकै महत्वपूर्ण काम गरेको शारदा माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत भगवती राणाले बताइन्। उनले भनिन्, ‘हामीले आफ्नो सुरक्षा कसरी गर्ने र अप्ठ्यारोमा सुरक्षित हुने विभिन्न तरिकाहरु सिक्न पायौं।’

छात्रा तथा महिलाहरुमा आत्मविश्वाश बढाउन र यौन दुर्व्यवहारविरुद्ध बोल्ने हिम्मत  जुटाउन तालिमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताए। छात्राहरुमार्फत गाउँघरमा समेत यस्तो सिकाइ तथा ज्ञानको प्रवाह होस् भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष केसीको भनाइ छ।

सार्वजनिक यातायातमा यात्रा गर्दा वा अन्य स्थानहरुमा हिँड्डुल गर्दा महिलाहरुमाथि हुने यौन दुर्व्यवहारबाट आत्म रक्षा गर्ने सम्बन्धमा सीप सिकाएको युथ्स अफ तुलसीपुरका सल्लाहकार अरुण लहरेले बताए। पछिल्लो समयमा बलात्कार तथा हिंसाका घटनाहरु बढ्दै जाँदा किशोरिहरु असुरक्षित बन्दै गएका कारण किशोरीहरुलाई आत्म सुरक्षा तालिम प्रदान गरेको युथ्स अफ तुलसीपुरका अध्यक्ष वसन्त गिरीले बताए। उनले भने, ‘साथीभाइ, परिवार, नातेदार लगाएतका व्यक्तिहरुबाट बलात्कार तथा हिंसाका घटनाहरु बढिरहेको भन्दै आफूहरुले अभियानै चलाई कार्यक्रम सञ्चालन गरी कसरी आफ्नो सुरक्षा गर्ने र बच्नका लागि कसरी अपनाइने प्रयासहरुका बारेमा जानकारी दिने गरेका छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

Top