होमपेज / समाज
पुस २१,सल्यान
पछिल्लो समय सल्यानका किसानहरु प्रविधिसँग जोडिन थालेका छन् । किसानहरु कृषि सम्बन्धीका सम्पूर्ण जानकारी मोवाइल, इन्टरनेटको माध्यमबाट लिन थालेका छन् ।
तरकारी खेतीमा लाग्ने विभिन्न रोग, किरा तथा त्यसको नियन्त्रत्रण गर्ने विधि आजभोली किसानहरु मोवाइलबाट सूचना लिने गर्दछन् । मोबाइल एप्स र इन्टरनेटको माध्यमबाट कृषि सम्बन्धीका नयाँ नयाँ प्रविधि सिक्दै आइरहेको शारदा नगरपालिका ६ बरलाका किसान लोकराज भण्डारीले बताए । उनले भने ‘प्रविधिले खेती गर्न सजिलो भएको छ खेतबारीबाटै कृषि प्राविधिकसँग सल्लाह लिएर काम गर्न सकिन्छ ।’
तरकारीमा केही समस्या देखिए लाइभ भिडियोबाट रोग लागेको बिरुवा देखाइ विज्ञको सल्लाह लिने गरेको उनले बताए । उनले १४ रोपनी जग्गामा व्यावसायिक तरकारी खेती गरिरहेका छन् ।
विज्ञको सल्लाहका आधारमा खेती गर्दै जाँदा अधिकांश प्रविधिसँग सम्बन्धित अधिकांश समस्या समाधान गर्न आफै सक्षम हुन थालेको भण्डारीले बताए । ‘कृषि प्राविधिकले एक वर्षदेखि मेरो बारीको सबै समस्या समाधान गरिदिनुभएको छ ’ उनले भने, ‘प्रविधिको प्रयोग गरी खेती गर्दा समय र खर्चको सदुपयोग भएको छ ।’ १८ टनेल निर्माण गरी खेती गरेर वार्षिक १३ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको बताए ।
१० रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्दै आएका बरलाकै भीमबहादुर बुढाथोकीले जिल्लामा प्राविधिक जनशक्ति कम हुँदा प्रविधिको सहारा लिनुपरेको बताए । बारीमा केही समस्या देखिए समाधानका लागि गुगल सर्च गर्ने गरेको उनको भनाई छ । त्यसबाट समाधान नभए कृषि कार्यालयका विज्ञ र प्राविधिकलाई भिडियो च्याटमार्फत सम्पर्क गरी रोगकिराको प्रकोप नियन्त्रणबारे जानकारी लिने गरेको बुढाथोकीको भनाई छ ।
उनले भने, ‘तरकारीमा केही समस्या देखिए उहाँहरूलाई भिडियो च्याटमार्फत समस्या देखाएर समाधान गर्ने प्रयास गरिरहेको छु ।’ उनले तरकारी लगाउनुपूर्व, तरकारी लगाउने बेला, गोडमेल गर्ने समय र उत्पादन दिनुअघि कोही न कोही प्राविधिलाई भिडियोमार्फत तरकारी बारीको अवस्थाबारे जानकारी गराउने गरेको बताए ।